रूस र अमेरिका बिच आर्कटिक र अलास्कामा एलएनजी परियोजनामा सहकार्यको सम्भावना
काठमाडौँ, भदौ ७ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार रूस र संयुक्त राज्य अमेरिकाबीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनाहरूमा सम्भावित सहकार्यबारे छलफल भइरहेको खुलासा गर्नुभएको छ। यो सहकार्य रूसको आर्कटिक क्षेत्रदेखि अमेरिकाको अलास्कासम्म विस्तार हुन सक्ने उहाँको भनाइ छ।
निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक उद्योगका वैज्ञानिक तथा प्राविधिकहरूसँगको भेटमा राष्ट्रपति पुटिनले उक्त जानकारी दिनुभएको हो। उहाँले रूसका प्रमुख एलएनजी उत्पादक ‘नोभाटेक’ लगायत अन्य धेरै रूसी कम्पनीहरूले युरोपेली र एसियाली साझेदारहरूसँग मिलेर सफलतापूर्वक काम गरिरहेको बताउनुभयो ।
‘हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भाव्यतामाथि छलफल गरिरहेका छौं, जुन हाम्रो आर्कटिक क्षेत्रमा मात्र सीमित नभएर अलास्कासम्म पनि हुन सक्छ ।’ समाचार एजेन्सी तासले पुटिनलाई उद्धृत गर्दै लेखेको छ ।
राष्ट्रपति पुटिनका अनुसार, रूससँग रहेको विशेष र अद्वितीय तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारहरूको समेत ध्यानाकर्षण गरेको छ। यो सम्भावित सहकार्यले दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ आयाम थप्न सक्ने विश्लेषण गरिएको छ, यद्यपि दुई देशबीच युक्रेन युद्धका कारण सम्बन्ध चिसिएको छ। यो छलफलले ऊर्जा र व्यापारका क्षेत्रमा भने सहकार्यको ढोका खोल्न सक्ने संकेत दिएको छ।
