चेल्सीको फराकिलो जित

लन्डन, ७ भदौ । चेल्सीले प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५–१ ले हराएको छ । स्टार खेलाडी कोल पाल्मर वार्म अपमा घाइते भएपछि चेल्सीले सो खेलमा ब्राजिलका १८ वर्षीय विन्गर इस्टोभाओलाई पूरा खेल खेलाएको थियो ।

चेल्सीको यो पहिलो जित हो । चेल्सी पहिलो खेलमा क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको थियो । वेस्ट ह्याम आफ्नो पहिलो खेलमा यस सत्रमा बढुवा भएको सन्डरल्यान्डसँग ३–० ले निराश बनेको थियो । सो खेलमा पहिलो गोल वेस्ट ह्यामले गर्यो । तर चेल्सीले जवाफमा पाँच गोल गर्यो । चेल्सीका लागि जोआओ पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेज, मोइसेस काइसेडो र ट्रेभो चालोबाले गोल गरे ।