भियतनामका उपराष्ट्रपतिसँग नेपालका परराष्ट्र मन्त्रीको शिष्टाचार भेट
काठमाडौँ, भदौ ७ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा काठमाडौँ आउनुभएकी सुआनसँगको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध पक्षमा महत्वपूर्ण छलफल भएको थियो ।
भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाले भियतनामले हासिल गरेको तीव्र आर्थिक विकासको प्रशंसा गर्दै यसबाट अन्य देशले पनि प्रेरणा लिन सक्ने बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्धको आधारका रूपमा रहेको बौद्ध धर्मको महत्वलाई उजागर गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिनुभयो । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भियतनामी पर्यटकको आगमन बढिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रमा सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो ।
यसै क्रममा मन्त्री डा. राणाले भियतनामबाट नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडानको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने तयारीमा रहेको जानकारी गराउँदै मन्त्री राणाले त्यसपछिको चरणमा भियतनामको सहयोगका लागि अनुरोध गर्नुभयो । साथै, उहाँले नेपालले मानवअधिकार परिषद् (सन् २०२७-२०२९) र आर्थिक तथा सामाजिक परिषद् (सन् २०२९-२०३१) को सदस्यका लागि दिएको उम्मेदवारीमा भियतनामको समर्थन माग्नुभएको थियो । जवाफमा उपराष्ट्रपति सुआनले नेपालको उम्मेदवारीलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुवै पक्षले जी-७७, असंलग्न आन्दोलन (नाम) जस्ता मञ्चहरूमा विकासशील देशहरूको हितका लागि साझा आवाज उठाउँदै आएको र जलवायु परिवर्तन तथा दक्षिण-दक्षिण सहयोग जस्ता विश्वव्यापी एजेन्डामा सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति जनाएका थिए ।
