विहारको सडकमा सवारी दुर्घघटना : गंगा स्नान गर्न जाँदै गरेका कम्तीमा १० तीर्थयात्रीको निधन

काठमाडौँ, भदौ ७ । भारतको पूर्वी राज्य बिहारमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै जना गम्भीर घाइते भएका छन् । बिहारको राजधानी पटना नजिकै दनियावां-हिलसा राजमार्गमा विपरित दिशाबाट आइरहेको ट्रकले यात्रु बोकेको अटो रिक्सालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । मृत्यु हुनेमा अधिकांश महिला तीर्थयात्री र अटो रिक्साका चालक रहेका छन् । मृतकहरू नालान्दा जिल्लाको एउटै गाउँका बासिन्दा भएको र उनीहरू गंगा नदीमा स्नान गर्न फतुहा गइरहेका थिए ।

प्रारम्भिक अनुसन्धानले ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको देखाएको छ । ठक्कर यति शक्तिशाली थियो कि अटो रिक्सा पूर्ण रूपमा क्षतविक्षत भएको थियो । दुर्घटनालगत्तै ट्रक चालक आफ्नो गाडीसहित घटनास्थलबाट फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी कार्य तीव्र पारेको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

घाइते भएकाहरूको पटना मेडिकल कलेज र अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *