सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने डेढ अर्बले बढ्यो

काठमाडौँ, ८ भदौ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा झरेको हो।

बजार घटे पनि यसदिन लगानीकर्ताको सक्रियता भने बढेको देखिन्छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा डेढ अर्बभन्दा बढीले वृद्धि हुँदै ६ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ।

दिनको सुरुवातमा केही बढेर २७७० अंकसम्म पुगेको बजारमा त्यसपछि बिक्रीचाप हावी भएको थियो। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै उपसमूहका सूचक राताम्मे बन्याे। विकास बैंक समूहमा सबैभन्दा धेरै १.६९ प्रतिशतको गिरावट आयो भने बैंकिङ र जलविद्युत् समूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लाग्याे ।

विकास हाइड्रोपावरमा सर्किट, हिमालयन डिस्टिलरीको कीर्तिमानी कारोबार
आज विकास हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यससँगै कम्पनीको मूल्य ३८८.७० रुपैयाँ पुगेको छ। उता, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै ७.२९ प्रतिशत गुमाए।

कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरीले बजारको नेतृत्व गर्‍यो। कम्पनीको एक्लै १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कीर्तिमानी कारोबार भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भयो। समग्रमा, आज बजारमा ४१ कम्पनीको मूल्य बढ्दा २०८ कम्पनीको मूल्य घटेको छ।