सेनाको २.५ करोड लगानीमा २२ विकास आयोजना सम्पन्न: ऐतिहासिक गढीदेखि हेलिप्याडसम्म निर्माण

काठमाडौँ, ९ भदौ। नेपाली सेनाले गत आर्थिक वर्ष २०८१/८२ मा रु. २ करोड ५६ लाखको लगानीमा देशभर २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ। सेनाले आफ्नो नियमित जिम्मेवारीका साथै न्यूनतम लगानीमा आमनागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले यी आयोजनाहरू सम्पन्न गरेको हो।

सेनाका प्रवक्ता, सहायकरथी राजाराम बस्नेतका अनुसार यी आयोजनाहरू विशेषगरी ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा केन्द्रित छन्। यस अन्तर्गत सेनाले बाजुराको बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ भने उदयपुरको चौदण्डीगढी, नुवाकोटको बेलकोटगढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढीजस्ता विभिन्न ऐतिहासिक गढी तथा दरबारहरूको मर्मत-सम्भार गरेको छ।

त्यस्तै, समुदायको प्रत्यक्ष आवश्यकतालाई सम्बोधन गर्दै सामाजिक पूर्वाधार निर्माणमा पनि सेनाले काम गरेको छ। यसअन्तर्गत मुगुमा आपत्कालीन उद्धारका लागि हेलिप्याड, महोत्तरीमा छात्रा शौचालय, दैलेखमा विद्यार्थीका लागि सेड घर तथा डडेलधुरा र डोटीमा खानेपानी ट्याङ्की निर्माण गरिएको छ। यी पूर्वाधारले सुत्केरी महिलाको उद्धार, शिक्षा र खानेपानीको सहज पहुँचमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

पर्यटन प्रवर्द्धनका लागि नारायणहिटी संग्रहालय परिसरको झिल पोखरी मर्मत र बाराको कलैयामा राष्ट्रिय झन्डा निर्माणजस्ता काम पनि भएका छन्।

सम्पन्न भएका यी आयोजनाहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। यी कामले स्थानीय स्तरमा विकासप्रति अपनत्व बढाउनुका साथै राष्ट्रिय एकताको भावनालाई बलियो बनाउने सेनाले विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *