चन्द्रमाको पूजा र पारिवारिक जमघटको अवसर : मिथिला क्षेत्रको चौरचन पर्व
काठमाडौँ, भदौ १० । आज मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामसँग मनाइँदैछ । यस पर्वलाई मिथिलाञ्चलमा श्रद्धा र आस्थाको प्रतीकको रूपमा लिइन्छ र आज राति चन्द्रमाको विशेष पूजा गरी मनाइन्छ । ठाउँअनुसार यस पर्वलाई चौठचन्द्र पनि भनिन्छ ।
भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्व गणेश चतुर्थीसँगै पर्दछ । चौरचन पर्वलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा लिइन्छ । यस दिन विशेष गरी विवाहित महिलाहरू दिनभरि निराहार व्रत बसी साँझमा चन्द्रमाको पूजाआजा गरेपछि मात्र अन्न र जल ग्रहण गर्दछन् ।
पूजा विधि र सांस्कृतिक महत्व
साँझ परेपछि घरको आँगन वा छतमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन (चतुष्कोण यज्ञस्थल) बनाइन्छ । त्यसपछि दीप प्रज्वलन गरी व्रत बसेका महिलाहरूले फलफूल, मिठाई, पुरी, खीर र विशेषगरी दही जस्ता परिकारहरू चन्द्रमालाई अर्पण गर्छन् । पूजा सकिएपछि घरका सबै सदस्यले पालैपालो चन्द्रमाको दर्शन गरी प्रसाद ग्रहण गर्दछन् ।
यो पर्वको सामाजिक महत्व पनि उत्तिकै रहेको छ । संस्कृतिविद् ध्रुव रायका अनुसार, चौरचन पर्वले परिवारका सदस्यहरूलाई एकै ठाउँमा भेला गराउँछ । सँगै बसेर पूजापाठ गर्ने र प्रसाद ग्रहण गर्ने चलनले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उहाँ बताउनुहुन्छ । जलेश्वर नगरपालिका–८ की व्रतालु राजवतीदेवीका अनुसार पर्वमा विभिन्न मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।
पौराणिक मान्यता
पौराणिक कथाअनुसार, भगवान गणेशलाई देखेर चन्द्रमाले हाँसेका कारण गणेशले चन्द्रमालाई श्राप दिएका थिए । श्रापका कारण चन्द्रमालाई हेर्ने जो कोहीलाई पनि मिथ्या (झुठो) कलंक लाग्ने भयो । पछि चन्द्रमाले आफ्नो गल्ती स्वीकार गरी क्षमा मागेपछि गणेशले भाद्र शुक्ल चतुर्थीका दिन जसले चन्द्रमाको पूजा गर्छ, उसलाई कलंक नलाग्ने र सबै मनोरथ पूरा हुने वरदान दिए । यही विश्वासका साथ मिथिलामा चन्द्रमाको पूजा गर्ने परम्परा चलेको हो ।