शेयर बजारमा सामान्य सुधार, चार अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, १० भदौ । आज शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। आज नेप्से ४.८३ अङ्कले बढेर २,७६६.०९ बिन्दुमा पुगेको छ।

दिनभरमा कुल ३२२ कम्पनीको ९२ लाख ४३ हजार कित्ताभन्दा बढी शेयर किनबेच हुँदा रु. ४ अर्ब १८ करोड ५३ लाख बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगायतका अधिकांश समूहको उपसूचक बढेको छ। ‘अन्य’ समूहमा सबैभन्दा धेरै १.४२ प्रतिशतको वृद्धि देखियो। यद्यपि, लगानी, उत्पादन, लघुवित्त र निर्जीवन बीमा समूहको उपसूचक भने घटेको छ।

आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी सबल योजनाका लगानीकर्ताले सबैभन्दा धेरै ३.६६ प्रतिशत गुमाए।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै रु. ४८ करोड ९५ लाखको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो। कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने हिमालयन ८०–२० अग्रस्थानमा रह्यो।