शेयर बजारमा लयमा फर्किँदै, २८०० को मनोवैज्ञानिक विन्दु पार

काठमाडौँ, ११ भदाै । बुधबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। ११ कारोबार दिनको अन्तरालपछि नेप्से परिसूचक पुनः २८०० को मनोवैज्ञानिक विन्दु पार गर्न सफल भएको हो।

आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ भने कारोबार रकम पनि बढेर ७ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ। अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएको थियो। बजारमा आएको यो सुधारले लगानीकर्तामा आशा जगाएको छ।

बुधबारको बजारको सबैभन्दा सकारात्मक पक्ष सबै उपसमूहमा वृद्धि देखिनु रह्यो। कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक हरियो बनेको छ, जसमध्ये विकास बैंक समूहमा सबैभन्दा धेरै ३.४० प्रतिशतको उछाल देखियो। यसैगरी, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले बढेको छ।

आज विकास हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ, र यसको मूल्य प्रतिशेयर ५१७ रुपैयाँ पुगेको छ। त्यस्तै, समता घरेलु लघुवित्तका लगानीकर्ताले करिब साढे ९ प्रतिशत कमाए भने ग्रिन भेन्चर्सको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्यो।

कारोबार रकमको आधारमा आज हिमालयन रि इन्स्योरेन्सले शीर्ष स्थान ओगटेको छ, जसको ६५ करोडभन्दा बढीको शेयर किनबेच भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी र ग्रिन भेन्चर्सले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै उच्च कारोबार गरे।