शेयर बजारमा नेप्सेसंगै घट्यो कारोबार रकम
काठमाडाैंं, १५ भदाै । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि घटेकाे हाे ।
यसदिन नेप्से परिसूचक ३१.१७ अंक घटेर २७४९.८३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ९७ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन आशा लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अरु बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ४६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम २६ करोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत घटेको छ।