डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यास यथावत

काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नयाँ मूल्यसूची पठाएपछि निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो।

निगमका अनुसार, पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ।
हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिब्यारेल ७ अमेरिकी डलर मूल्य घटेको छ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ‘ब्रेकइभेन पोइन्ट’ मूल्य कायम गरिएको निगमले जनाएको छ। नयाँ समायोजित मूल्य आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुनेछ।