“नागरिकता विधेयकले आमाको बंशज कायम गर्छ” – गृहमन्त्री, लेखक
काठमाडौँ, भदौ १८ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको नामबाट पनि बंशजको नागरिकता प्राप्त हुने व्यवस्था सुनिश्चित गरेको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकमाथि छलफलका क्रममा गृहमन्त्री लेखकले यो विधेयक एउटा ऐतिहासिक कदम भएको उल्लेख गर्नुभयो । “हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमाबाट पनि बंशज कायम हुन्छ । आमाकै नागरिकताका आधारमा सन्तानले नागरिकता प्राप्त गर्छ भन्ने कुरालाई विधेयकमा सुनिश्चित गरिएको छ,” उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने कुरा विधेयकको आधारभूत तत्व भएकोमा जोड दिनुभयो । विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहज बनाउनका लागि नाबालक परिचयपत्र प्राप्त गर्नसक्ने व्यवस्था पनि गरिएको छ ।
“संविधानको भावनाबमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुने छैन,” उहाँले भन्नुभयो, “साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्नेगरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन् ।”
गृहमन्त्रीका अनुसार, विद्यमान सामाजिक परिवेशअनुसार पहिचानविहीन भएर बस्नुपरेका र वैदेशिक रोजगारमा गएका नेपाली महिलाका सन्तान नागरिकताविहीन भइरहेको अवस्थामा उनीहरूले अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ ।