प्रतिनिधिसभामा आज पाँच विधेयक प्रस्तुत हुँदै

काठमाडौँ, १२ असार । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सरकारले पाँचवटा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने र बजेटसँग सम्बन्धित ‘आर्थिक विधेयक’ पारित गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नुहुनेछ।

आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा विधेयकहरू प्रस्तुत हुने तयारी छ:
१. कानून मन्त्री सोबिता गौतम: सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३।
२. अर्थमन्त्री स्वर्णिम वाग्ले: सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३।
३. भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल: सहकारी (पहिलो संशोधन) विधेयक, २०८३।
४. स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता: स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३।

आजको बैठकको मुख्य आकर्षण बजेट पारित गर्ने प्रक्रियाको महत्वपूर्ण पाटो ‘आर्थिक विधेयक, २०८३’ रहनेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयकमाथि प्राप्त संशोधनहरूमा छलफल गरी पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
यसैगरी, अर्थमन्त्री वाग्लेले नै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सहकारी समस्या, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद जस्ता महत्वपूर्ण विषयमा संशोधन ल्याउन लागिएकाले आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ।