अष्ट्रेलियाबाट निष्कासित आप्रवासी नाउरुमा पुनःस्थापित हुने, अष्ट्रेलियाले १.६ अर्ब अमेरिकी डलर तिर्ने
काठमाडौँ, भदौ १९ । अष्ट्रेलियाले आफ्नो भूमिमा कानुनी आधार नभएका आप्रवासीहरूलाई सानो टापु राष्ट्र नाउरुमा पुनःस्थापना गर्नका लागि आगामी ३० वर्षभित्र १.६ अर्ब अमेरिकी डलर (२.५ अर्ब अष्ट्रेलियाली डलर) भुक्तानी गर्ने भएको छ । हालै गोप्य रूपमा दुई देशबीच भएको सम्झौताअनुसार, नाउरुले ३५४ जना आप्रवासीहरूलाई स्थायी बसोबासको अनुमति दिनेछ । यसका लागि नाउरुले प्रारम्भिक रूपमा ४०८ करोड अष्ट्रेलियाली डलर पाउनेछ र त्यसपछि हरेक वर्ष ७० करोड डलर थप भुक्तानी गरिनेछ ।
बुधबार राति भएको संसदीय सुनुवाइमा अष्ट्रेलियाली गृह मन्त्रालयका अधिकारीहरूले यो सम्झौता तीन दशकसम्म जारी रहन सक्ने भन्दै यससम्बन्धी आर्थिक विवरण पहिलोपटक सार्वजनिक गर्नुभयो । गृह मामिला विभागकी आप्रवासन प्रमुख क्लेयर शार्पले यो प्रक्रिया दुवै देशको हितमा रहेको बताउँदै नाउरुले आप्रवासीहरू त्यहाँ पुगेपछि मात्र रकम पाउने हुँदा यो उनीहरूका लागि अझ महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
करिब १२ हजार ५ सय जनसङ्ख्या भएको नाउरु विश्वकै साना देशहरूमध्ये पर्छ । २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो टापु जलवायु परिवर्तन, बेरोजगारी र स्वास्थ्य समस्याको उच्च जोखिममा रहेको तथ्य हालैको विश्व बैंकको प्रतिवेदनले जनाएको छ । कुनै समय फस्फेटको समृद्ध स्रोतले नाउरुलाई धनी बनाएको थियो । तर, ती स्रोत समाप्त भएपछि हाल नाउरुको ८० प्रतिशत भू–भाग खानीका कारण बसोबासका लागि अयोग्य भएको अध्ययनहरूले देखाएका छन् ।
सम्झौताअनुसार, अष्ट्रेलियाबाट प्राप्त रकम नाउरु सरकार र अष्ट्रेलियासँगको संयुक्त कोषमा राखिनेछ । यदि सम्झौताका केही प्रावधान पूरा भएनन् भने रकम फिर्ता गरिने प्रावधान पनि राखिएको छ । कोषमा जम्मा भएको रकमबाट आउने ब्याज नाउरुले पाउनेछ भने मुख्य रकम सन् २०५५ मा भुक्तानी गरिनेछ ।
अष्ट्रेलियाली अधिकारीहरूले सबै ३५४ जना व्यक्तिलाई अनिवार्य रूपमा नाउरु पठाइन्छ भन्ने ग्यारेन्टी नभएको र अन्तिम निर्णय नाउरु सरकारको अधिकार क्षेत्रमा पर्ने बताएका छन् । तीमध्ये केही गम्भीर आपराधिक अभियोगमा दोषी ठहरिएकाहरू पनि छन् । अष्ट्रेलियाले प्रत्येक आप्रवासन निवेदनका लागि एक हजार डलर अतिरिक्त शुल्क पनि तिर्नेछ।
सन् २०२३ मा अष्ट्रेलियाली सर्वोच्च अदालतले यदि कुनै व्यक्तिलाई अन्यत्र देश निकाल्न सकिँदैन भने अनिश्चितकालीन हिरासत गैरकानुनी हुने निर्णय गरेको थियो । जसपछि २२० जनालाई रिहा गरिएको थियो। हाल यस्ता स्थितिमा रहेका आप्रवासीहरूको सङ्ख्या ३५४ पुगेको अष्ट्रेलियाली अधिकारीहरूको भनाइ छ ।
यस वर्षको मार्च महिनामा, अष्ट्रेलियाले तीन जना गम्भीर आपराधिक मुद्दामा दोषी ठहरिएका आप्रवासीहरूलाई नाउरुले स्वीकार गर्न रकम दिएको थियो, तर कानुनी अड्चनका कारण तिनको स्थानान्तरण अहिलेसम्म रोकिएको बताइएको छ। गत वर्ष, अष्ट्रेलिया र नाउरुबीच समुद्री सुरक्षा, रक्षा र प्रहरीसम्बन्धी सहकार्यका लागि छुट्टै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
