अन्तिम समयमा गोल गरेपछि लिभरपुल विजयी
लन्डन २ असोज । च्याम्पियन्स लिगमा लिभरपुलले अन्तिम समयमा गोल गरी एट्लेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ । कप्तान भर्जिल भान डिकले इन्जुरी समयको दोस्रो मिनेटमा हेड गोल गरेपछि लिभरपुलले जित प्राप्त गर्यो । यसअघि, लिभरपुलले सुरुको छ मिनेटमै लिएको दुई गोलको अग्रता खेर फालेको थियो ।
लिभरपुलका लागि सुरुमै एन्डि रोवर्टसन र मोहम्मद सलाहले गोल गरेका थिए । तर पूर्वार्धको इन्जुरी समय र खेलको ८१ औँ मिनेटमा मार्कोस लोरेन्टेले गोल गरेपछि खेल बराबरीतर्फ अग्रसर बन्यो । यद्यपि भान डिकले अन्तिम समयमा गोल गरेपछि लिभरपुल तीन अङ्कबाट वञ्चित हुनुपरेन । सन् २०२० मा पन लोरेन्टेले लिभरपुलको घरेलु मैदानमा एन्फिल्डमा दुई गोल गरेका थिए । सो समय एट्लेटिकोले उपाधि रक्षा अभियानमा रहेको लिभरपुललाई क्वाटरफाइनलबाट विदा गरेको थियो ।
प्रिमियर लिग उपाधि रक्षा अभियानमा पनि लिभरपुलले सुरुका चारै खेल जित्न ८० मिनेटपछि निर्णायक गोल गरेको थियो । जसमध्ये दुई खेलमा लिभरपुलले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरी विजय प्राप्त गरेको हो ।