पोर्चुगलले गर्याे देश बाहिर जान रोक, आप्रवासीहरूले पाएको आवास अनुमति पत्र खारेज

काठमाडौँ, २ असाेज । पोर्चुगलले आप्रवासीलाई दिएको आवास अनुमति पत्र खारेज गर्दै देश बाहिर जान रोक लगाएका छन् ।

त्यस्ता आप्रवासीहरूमा दशैँका लागि घर फर्किन लागेका केही नेपाली समेत परेका छन्।

बुधबार मात्र राजधानी लिस्वनस्थित एयरपोर्टबाट १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाइएको थियो। यसमा केही नेपाली पनि छन्। उनीहरुलाई अध्यागमन अधिकारीहरूले अनधिकृत रूपमा पोर्चुगल प्रवेश गरेर आवास अनुमतिपत्र लिएको आरोप लगाएका छन्।

सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसा नभई पोर्चुगल प्रवेश गरी त्यहाँको आवास अनुमतिपत्र लिएकाहरू यो प्रावधानको निशानामा परेका हुन्।

एनआरएनए पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले पनि यस्तै समस्यामा परेका एकनेपाली सम्पर्कमा आएको बताएकी छिन्। काफ्लेका अनुसार सम्पर्कमा आएका ती व्यक्ति २०२२ मा युकेबाट पोर्चुगल प्रवेश गरी त्यहाँको अनुमतिपत्र लिएका थिए। तर, उनीसँग पोर्चुगलको भिसा नभएपछि रोकिएको हो।

त्यहाँ प्रायः आप्रवासी अवैध तरिकाले प्रवेश गर्ने गर्छन्। १२ वर्षयता जुनसुकै बाटोबाट आए पनि त्यहाँको सरकारी करमा सामेल भएका श्रमिकलाई एक वर्षपछि अस्थायी आवास अनुमतिपत्र दिने कानून थियो। तर, डेढ वर्षअघि खारेज भएको यो कानूनी आधारमा नै धेरै आप्रवासी अन्य देशबाट भाग्दै र लुक्दै पोर्चुगल आएर आवास अनुमतिपत्र लिएका थिए। अहिले त्यसरी यहाँ प्रवेश गरेर अनुमतिपत्र लिएकाहरुको हकमा समस्या उत्पन्न भएको हो।