काठमाडाैंकाे गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार, एक पक्राउ

काठमाडौं, २ असोज । काठमाडाैंकाे गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि बिहीबार बिहान सवा ११ बजेतिर खुकुरी प्रहार भएको हो । काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिनसकेको प्रहरीले जनाएकाे छ ।

घाइते महिलालाई उपचारका लागि शंकरापुर अस्पताल नारायणटार पठाइएको छ । ती महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ ।