वेस्ट इन्डिजविरुद्धको शृङखला महत्वपूर्ण– कप्तान रोहित

काठमाडौँ, २ असोज । वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टि२० आई शृङखलामा सहाभगी हुने नेपाली क्रिकेट टिमको विदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आयोजित विदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन सिंह सचिव पारस खड्कालगायतले नेपाली टिमलाई शुभकामना दिनुभयो ।

सदस्यसचिव घिसिङले जेन जी आन्दोलनमा नेपालका एक युवा क्रिकेटर पन गुमाउनु परेको स्मरण गराउँदै यस आन्दोलनले नेपालको खेल क्षेत्रमा पनि परिवर्तन हुने अपेक्षा गरेका छन् ।

कयानले विदाई कार्यअघि जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रमको आयोजना पनि गरेको थियो ।

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले यो एतिहासिक शृङखलामा राम्रो प्रदर्शन गर्ने बताए । उनले भने –हामी उत्साहित छोँ । विश्वकप छनोट प्रतियोगिताअघिको यो नेपालका लागि महत्वपूर्ण भ्रमण हो । यसका लागि हामी तयार पनि छौँ । एक महिना अस्ट्रेलियामा राम्रो तयारी पनि भयो ।

वेस्ट इन्डिजविरुद्धको शृङखला सकिनासाथ नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल फाइनलमा सहभागिता जनाउनेछ । त्यसैले वेस्ट इन्डिजविरुद्धको शृङखलालाई विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारीको रुपमा रहेको छ । विश्वकपलाई नै ध्यानमा राखेर नेपालले गत महिना अस्ट्रेलियाको लामो भ्रमण पनि गरेको थियो ।

नेपाल र वेस्ट इन्डिजबिचको ऐतिहासिक शृङखला संयुक्त अरब इमिरेट्स (युएइ)मा हुँदेछ । नेपाली टिम शुक्रबार युएइ प्रस्थान गर्नेछ । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग क्रिकेट शृङखला खेल्न लागेको हो । यस शृङखाअन्तर्गत पहिलो खेल सेप्टेम्बर २७ मा हुनेछ । त्यस्तै दोस्रो खेल सेप्ट्म्बर २९ र तेस्रो खेल सेप्टेम्बर ३० मा हुनेछ ।