इरानमा नयाँ प्रतिबन्धपछि नागरिक भन्छन्, “हामी बर्बाद हुनेछौँ”
काठमाडौ, असोज १२ । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि इरानी नागरिकहरू गहिरो तनावमा परेका छन् । यसले गर्दा मूल्यहरू तीव्र रूपमा बढेका छन् भने राष्ट्रिय मुद्रा रियालको भाउ अहिलेसम्मकै न्यून स्तरमा पुगेको छ । ३३ वर्षीया ग्राफिक डिजाइनर हेलियाले प्रतिबन्धको असर तत्कालै महसुस गर्नुभयो । ‘आफ्नो नयाँ घरका लागि लिन खोजेको फर्निचरको मूल्य तीन दिनमै ह्वात्तै बढेको थियो ।’ उहाँले भन्नुभयो, “डलर बढ्नुअघि नै मूल्य चुलिएको छ । मासुदेखि ट्याक्सीसम्म, जीवन झन् गाह्रो बनेको छ ।”
इरान सरकारले यी प्रतिबन्धहरूलाई ‘अन्यायपूर्ण’ भन्दै निन्दा गरेको छ । सन् २०१५ को आणविक सम्झौताअन्तर्गत बेलायत, फ्रान्स र जर्मनीले सक्रिय गरेको ‘स्न्यापब्याक’ संयन्त्रपछि इरानको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै कारोबारमा रोक लगाइएको हो । तेहरानको विदेश मन्त्रालयले अन्य देशहरूलाई आफ्नो राष्ट्रिय हितका लागि यी प्रतिबन्धहरू लागू नगर्न आग्रह गरेको छ । यद्यपि राजधानीभरि नै निराशा छाएको छ ।
५६ वर्षीया शोधकर्ता नासिम कम्पनीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामी बर्बाद हुनेछौँ । सामान्य मानिसहरू अहिले जस्तै जीवन धान्न सक्दैनन् ।” १९ वर्षीय विद्यार्थी मेहरसादले प्रतिबन्धपछि इरान ‘आर्थिक र राजनीतिक रूपमा अलग’ हुने टिप्पणी गर्नुभयो । राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले सम्पूर्ण समृद्ध युरेनियम भण्डार हस्तान्तरणको बदलामा छोटो राहतको प्रस्ताव गरे पनि आफूहरूले त्यो स्वीकार नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो प्रस्ताव ‘अस्वीकार्य’ थियो । तर ७० वर्षीय लेखक नाभिद मोरादीले सरकारको दृष्टिकोणप्रति असहमति जनाउँदै भन्नुभयो, “वार्ता जारी राख्नुपर्थ्यो । कहिलेकाहीँ केही राहत दिएर बदलामा केही लिन सकिन्थ्यो । तर यसरी जनताले मात्र दुःख पाउनुपरेको छ ।”
मुद्राको तीव्र गिरावटसँगै मूल्यवृद्धि भएको छ । कालो बजारमा रियाल एक अमेरिकी डलरको बदलामा ११ लाख २० हजारमा झरेको थियो, पछि थोरै सुधार भएर ११ लाखमा पुगेको मुद्रा-ट्र्याकिङ वेबसाइटहरूले जनाएका छन् । मोरादीका अनुसार एक किलो मासु अहिले १० डलर बराबर (करिब एक करोड रियाल) पुगेको छ भन्नुभयो, जुन न्यूनतम पारिश्रमिकमा बाँच्नेहरूका लागि ठूलो चुनौती हो । “एउटा परिवारले कसरी बाँच्न सक्छ ?” उनले प्रश्न गरे । १९ वर्षीय विद्यार्थी अमिर-अब्बासले आफ्नो रुचि सङ्गीतलाई पछ्याउनै नसक्ने अवस्था आएको बताउनुभयो । “मैले गिटार ३० लाख रियालमा किनेको थिएँ, अहिले तीन अर्ब रियाल भएको छ । आयात बन्द भएकाले औषधि पनि महँगो हुँदै गएको छ,” उहाँले दुःख सुनाउनुभयो ।
विदेशबाट फर्किएका एक अनुसन्धानकर्ताले भने, “मूल्य, डलर, सुन-सबै बढ्नेछन् । सामान्य जीवन सम्भव हुनेछैन । अपराध र बालश्रम बढ्न सक्छ । म फेरि देश छोड्ने सोचमै छु ।” यद्यपि कठिनाइका बीच पनि केही आशा बाँकी छ । हेलियाले मुस्कुराउँदै भन्नुभयो, “हामी एक डलर बराबर एक लाख रियाल हुँदा पनि बाँचेका थियौँ । अहिले यो ११ लाख भए पनि हामी अझै उभिएका छौँ । हामी आशामा बाँचिरहेका छौँ । अनि त्यो आशा अझै बाँकी छ ।”
