‘आधिपत्यवाद’ विरुद्ध चीन र उत्तर कोरियाको सहकार्य सुदृढ
काठमाडौँ, असोज १३ । चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षी चो सोन-हुईसँगको भेटमा प्योङयाङसँगको सहकार्यलाई थप बलियो बनाउने र संयुक्त रूपमा ‘आधिपत्यवाद’ को विरोध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बेइजिङमा भएको यो भेटवार्ता उत्तर कोरियाली नेता किम जोङ उनको हालैको चीन भ्रमणको केही सातापछि सम्पन्न भएको हो । वाङले चीन-उत्तर कोरिया सम्बन्धलाई कायम राख्नु, सुदृढ पार्नु र विकास गर्नु चिनियाँ सरकारको अटल रणनीतिक नीति भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा उत्तर कोरियासँग सहकार्य र समन्वय बढाउन चीन इच्छुक रहेको बताउँदै, “हामी सबै प्रकारका आधिपत्यवादको विरोध गर्दै दुवै पक्षको साझा हित र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको रक्षा गर्न प्रतिबद्ध छौँ,” भन्नुभयो ।
विश्लेषकहरूका अनुसार यी टिप्पणीहरूले चीनको मुख्य प्रतिस्पर्धी संयुक्त राज्य अमेरिकालाई लक्षित गरेको स्पष्ट छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले मन्त्रीहरूबीचको छलफलमा विभिन्न मुद्दाहरूमा ‘पूर्ण सहमति’ भएको उल्लेख गरेको छ । दक्षिण कोरियाली एजेन्सी योनहापले पनि दुवै मन्त्रीले ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा गहिरो विचार-विमर्श गरी पूर्ण सहमति गर्नुभएको’ जानकारी दिएको छ ।
प्योङयाङको आणविक कार्यक्रमका कारण चीन-उत्तर कोरिया सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण भए पनि दुई छिमेकीबीचको घनिष्ठता कायम रहँदै आएको छ । यसै महिनाको सुरुमा बेइजिङमा दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवमा आयोजित भव्य सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै उभिनुभएको थियो ।
