ट्रम्पको गाजा शान्ति योजनामा हमासद्वारा समीक्षा : नेतन्याहुद्वारा चेतावनी
काठमाडौँ, असोज १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको सहमतिमा गाजामा युद्ध अन्त्य गर्ने र बन्धकहरूलाई रिहा गर्ने लक्ष्यसहितको २० बुँदे योजना प्रस्तुत गरेका छन् । यो योजना हमासलाई कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत पठाइएको छ । हमासका वार्ताकारहरूले यसलाई ‘सद्भावका साथ’ अध्ययन गरिरहेको बताइएको छ ।
योजनाका मुख्य बुँदाहरू-
युद्धविराम र बन्धक रिहाइ: इजरायलको स्वीकृतिपछि ७२ घण्टाभित्र हमासले सबै बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । यसको बदलामा इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई, जसमा आजीवन कारावास पाएकाहरू पनि समावेश छन्, रिहा गर्नेछ । इजरायलले ४८ जना बन्धक रहेको बताएको छ, जसमध्ये २० जना जीवित रहेको विश्वास गरिएको छ ।
हमासको निशस्त्रीकरण: विगतका वार्तामा अस्वीकार्य मानिएको हमासको निशस्त्रीकरण यस योजनामा एउटा शर्तका रूपमा राखिएको छ ।
अन्तरिम प्रशासन: ट्रम्पको नेतृत्वमा र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसमेत संलग्न भई एउटा अस्थायी प्रशासकीय समिति गठन गरिनेछ ।
हमास सदस्यहरूका लागि माफी : बन्धकहरू मुक्त भएपछि शान्तिपूर्ण सहअस्तित्वमा प्रतिबद्ध हमास सदस्यहरूलाई माफी दिइनेछ । गाजा छोड्न चाहनेहरूका लागि सुरक्षित मार्ग उपलब्ध गराइनेछ ।
शान्ति र समृद्धि : राष्ट्रपति ट्रम्पले यो सम्झौतालाई मध्यपूर्वमा स्थायी शान्ति र समृद्धिको नयाँ युगको सुरुवातका रूपमा चित्रण गरेका छन् ।
ट्रम्टको यो योजनाको प्रशंशा पनि भएको छ । र, आलोचना पनि भएको छ । यस्तै आन्तरिक दवाव पनि बढेको छ । कब्जा गरिएको पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजनाको स्वागत गरेको छ । इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहलको प्रशंसा गरेका छन् ।
दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको प्रश्न प्रस्तावमा स्पष्ट उल्लेख नगरिएको भन्दै आलोचना पनि गरिएको छ।
आन्तरिक दबाब : नेतन्याहु सरकारभित्रै, विशेष गरी कट्टर गठबन्धन साझेदारहरूबाट, हमासको पूर्ण उन्मूलनको माग भइरहेकाले प्रस्तावबारे दबाब कायम छ । इजरायली अति-दक्षिणपन्थी नेताहरूले कतारमा भएको सैन्य कारवाहीलाई ‘न्यायपूर्ण र नैतिक’ ठहर गर्दै समर्थन गरेका छन् ।
राष्ट्रपति ट्रम्पले वर्तमान अवस्थामा हमास लडाकूहरू निकै कमजोर भएको र अब यो प्रस्ताव स्वीकार गर्नुबाहेक विकल्प नरहेको बताएका छन् । उनले योजना सफल नभएमा हमासविरुद्ध थप इजरायली कारबाहीमा आफ्नो ‘पूर्ण समर्थन’ रहने आश्वासन दिएका छन् । ट्रम्पले प्यालेस्टिनीहरूलाई आफ्नो भाग्यको जिम्मेवारी लिन चुनौती दिएका छन् ।
प्रधानमन्त्री नेतन्याहुले पनि योजना अस्वीकार भएमा इजरायल आफैंले अन्तिम कारवाही गर्ने चेतावनी दिएका छन् । उनले हालै कतारमा भएको इजरायली आक्रमणप्रति खेद व्यक्त गरेका छन् । जसले कतारी सैनिकको ज्यान लिएको थियो ।
ट्रम्पको परिवर्तित दृष्टिकोण:
हाल राष्ट्रपति ट्रम्प द्वन्द्वप्रति अझ निराश देखिएका छन् । विगतमा उनले इरानसँगको छोटो युद्धमा इजरायललाई समर्थन गर्न अमेरिकी बमवर्षक प्रयोग गर्न आदेश दिएका थिए र नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दालाई ‘विच हन्ट’ बताउँदै सहयोग गरेका थिए । तर, हालै कतारमा हमास अधिकारीमाथिको असफल आक्रमणले उनलाई असन्तुष्ट बनाएको छ ।
