पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन
तनहुँ, १९ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ ।
शनिबार बिहानैदेखि परेको वर्षाका कारण सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको हाे ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिनुभयो । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो ।
विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ ।