रसायनिक मल नभित्रिएको गाउँ टिकोट
काठमाडौँ, असोज २० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ टिकोटका बुद्धवीर पुन तरकारी खेतीबाट वार्षिक रु सात लाखसम्म आम्दानी गर्नुहुन्छ । १५ रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफूल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बन्नुभएको हो । १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाउनुभएको थियो ।
“कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,” उहाँले भन्नुभयो, “ताजा तरकारी बिक्री गरेर वार्षिक रूपमा रु पाँच देखि सात लाखसम्म आम्दानी हुन्छ ।” साँझ बिहान तरकारी र किवी फार्मको स्याहारसुसारमा व्यस्त वडा सदस्य समेत रहेका पुनले दिउँसोको समय सामाजिक काममा दिनुहुन्छ । टिकोटको छिमेकी बस्ती घराम्दीका बासिन्दा रहेका अन्नपूर्ण गाउँपालिका-७ का पूर्व वडा अध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गर्नुभएको छ ।
गोलभेडा खेतीका लागि उहाँले तीन वटा प्लास्टिक टनेल बनाउनुभएको छ । फगामीका छिमेकी बहालवाला वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यावसायिक रूपमा आलु खेती गर्दै आउनुभएको छ । घराम्दी र टिकोटका कृषकले उत्पादन भएको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री हुने गरेको छ । यहाँ ५० जनाभन्दा बढी व्यावसायिक किसान छन् । गाडीले तरकारी बोकेर बजार लैजाने गरेको छ । यहाँबाट वार्षिक रु दुई करोडभन्दा बढी मूल्यको आलु र रु एक करोड बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य बुद्धवीर पुनले बताउनुभयो । टिकोट र घराम्दी समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ ।
चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो । कार्यक्रममार्फत कृषकहरूलाई तरकारी खेतीका लागि आवश्यक बीउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।
खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा जैविक विधिबाट तरकारी खेती गरेका छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैँसीको मलमुत्र प्रयोग गरेको बताउनुभयो । “प्लास्टिकको बोतलमा सङ्कलन गरेर राखेको गाईभैँसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा-जरामा हाल्छौँ,” उहाँले भन्नुभयो, “टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन ।” यहाँका किसानको प्रत्येक गोठमा गाईभैँसीको मूत्र सङ्कलन गरेर राखेका छन् ।