आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोगले दलहरूसँग छलफल गर्ने
काठमाडौं, २१ असाेज । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक दलसँग छलफलको तयारी गरेको छ ।
राजनीतिक दलहरूसँग संवादबिनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका बेला आयोगले दलहरूसँग छलफलको तयारी गरेकाे हाे ।
यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेन-जीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले आयोगले अब जतिसक्दो चाडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताए ।
गत निर्वाचनमा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सीट ल्याएका सबै दलसँग छलफल गर्न लागिएको एक पदाधिकारीले जानकारी दिए । त्यस्ता दलको संख्या २८ वटा रहेको छ । ती दलका प्रमुख तथा प्रतिनिधिलाई छलफलमा बोलाउनका लागि पत्राचार गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।