स्पेनको म्याड्रिडमा भवन भत्किँदा चार बेपत्ता, १० जना घाइते
काठमाडौँ, असोज २१ । स्पेनको पर्यटकीय सहर म्याड्रिडमा एउटा निर्माणाधीन भवन भत्किँदा चार जना बेपत्ता भएका छन् । यस घटनामा कम्तीमा १० जना घाइते भएका छन् । स्पेनी अधिकारीहरूका अनुसार, बेपत्ता भएकाहरूको खोजीका लागि आपतकालीन सेवाका टोलीहरू परिचालन गरिएको छ ।
म्याड्रिड क्षेत्रका लागि केन्द्रीय सरकारका उच्च प्रतिनिधि फ्रान्सिस्को मार्टिन अगुइरेले घटनाको पुष्टि गर्दै अहिलेसम्म १४ जना हताहत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मङ्गलबारसम्म बेपत्ता हुनेको सङ्ख्या चार पुगेको छ, र उनीहरू जीवित भेटिने आशा कम हुँदै गएको छ। कम्तीमा १० जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको छ ।”
घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेको बताइएको छ ।