नेपालद्वारा कतारलाई १४८ रनको लक्ष्य
काठमाडौँ, २७ असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत सोमबार नेपालले कतारविरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४७ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको छ ।
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा सर्वाधक ५८ रन बनाए । उनको पालिमा सात चौका र एक छक्का सामेल थियो । रोहितले चौथो विकेटका लागि दिपेन्द्रसिंह ऐरीसँग गरेको ६२ रनको साझेदारीले नेपालको पालि राम्रो भएको हो ।
दिपेन्द्रले २२ बलमा एक चौकासहित २६ रनको पालि खेले । यी दुई बोहक गुलसन झा (८ बलमा १६ रन) र सोमपाल कामी (नौ बलमा १४ रन)ले उपयोगी पालि खेले । अन्य ब्याट्सम्यानमा कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल अन्सारी २, सन्दिप जोरा १ रनमा आउट भए । नन्दन यादव एक रनमा अविजित रहे ।
कतारका लाग मिर्जा मोहम्मद बेगले चार ओभरमा २९ रन र डेनियल आर्चर मारिया लुइसले तीन ओभरमा २२ रन खचर््र तीन–तीन विकेट लिए ।मोहम्मद आसिम लियाकत अली र ओवासिस अहमदले पनि एक–एक विकेट हासिल गरे ।
यसअघि, नेपालले सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई एक रनले हराएर सन् २०२६ मा हुने आइसीसी टि२० विश्वकपमा चयनतर्फ एक पाइला सारेको छ । चालू प्रतियोगितामा नेपाल अपराजित छ ।