कतारलाई हराएपछि नेपाल टि२० विश्वकपको सङ्घारमा
काठमाडौँ, २७ असोज । सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले सोमबार कतारलाई ५ रनले हराएर आइसीसी टि२० विश्वकपको सङघारमा पुगेको छ ।
यस नतिजासँगै आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले छ अङ्क बनाएको छ । यसअघि, नेपालले सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई एक रनले हराएर सन् २०२६ मा हुने आइसीसी टि२० विश्वकपमा चयनतर्फ एक पाइला सारेको थियो । नेपालले समूह चरणमा दुवै खेल जितेर दुई अङ्कका साथ सुपर सिक्समा प्रवेश गरेको हो । चालू प्रतियोगितामा नेपाल अपराजित छ ।
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४७ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको छ । कतार जवाफमा एक बल बाँकी छँदै १४२ रनमा अलआउट भयो ।
र
प्राम्भिक ब्याट्म्यानद्वय इमाल लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५५ र जुबेर अलीले दुई चौका र एक छक्कासहित ५२ रन बनाएपछि कतार सहज जिततर्फ अग्रसर थियो । तर सन्दीपले ३.५ ओभरमा १८ रन खर्चेर पाँच विकेट लिएर नेपाललाई अकल्पनीय जित दिलाए । नन्दन यादवले पनि नेपाल समस्यामा छँदा दुई विकेट लिए । दिपेन्द्रसिंह ऐरीको खातामा पनि एक विकेट पर्यो । कतारका दुई प्रारम्भिक ब्याट्सम्यानबाहेक मोहम्मद असिम लियाकत अली (१० रन)ले मात्र दोहोरो अङ्कमा रन बनाउन सकेन ।
यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा सर्वाधक ५८ रन बनाएका थिए । उनको पालिमा सात चौका र एक छक्का सामेल थियो । रोहितले चौथो विकेटका लागि दिपेन्द्रसिंह ऐरीसँग गरेको ६२ रनको साझेदारीले नेपालको पालि राम्रो भएको हो ।
दिपेन्द्रले २२ बलमा एक चौकासहित २६ रनको पालि खेले । यी दुई बोहक गुलसन झा (८ बलमा १६ रन) र सोमपाल कामी (नौ बलमा १४ रन)ले उपयोगी पालि खेले । अन्य ब्याट्सम्यानमा कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल अन्सारी २, सन्दिप जोरा १ रनमा आउट भए । नन्दन यादव एक रनमा अविजित रहे ।
कतारका लाग मिर्जा मोहम्मद बेगले चार ओभरमा २९ रन र डेनियल आर्चर मारिया लुइसले तीन ओभरमा २२ रन खचर््र तीन–तीन विकेट लिए ।मोहम्मद आसिम लियाकत अली र ओवासिस अहमदले पनि एक–एक विकेट हासिल गरे ।
आजको खेलमा पाँच विकेट लिने सन्दीप म्यान अफ दि म्याच बने ।