अमेरिकी पासपोर्ट विश्वका शीर्ष १० शक्तिशाली सूचीबाट बाहिरियो, नेपाल १०१औं स्थानमा यथावत
काठमाडौं, २९ असोज । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ । हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो ।
अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।
सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ, जसले १९३ देशमा भिसा बिना प्रवेश अनुमति पाउँछ । दोस्रो स्थानमा दक्षिण कोरिया १९० देशमा र तेस्रोमा जापान १८९ देशमा भिसा बिना प्रवेश पाउने हैसियतमा छन् । इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१औं स्थानमै यथावत छ भने भारतीय पासपोर्ट ७७औं स्थानमा पुगेको छ ।
सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा भारतले ८ स्थान सुधार गर्दा नेपाल यथास्थितिमा रहेको हो । भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा । नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् ।
सन् २०२५ को पहिलो त्रैमासिकमा पनि नेपाल १०१औँ स्थानमा थियो भने अघिल्लो वर्ष १०३औँ स्थानमा रहेको थियो ।
किन कमजोर भयो अमेरिकी पासपोर्ट?
धेरै देशहरूले अमेरिकी नागरिकहरूका लागि भिसा नियम कडा बनाएका छन् । ब्राजिलले अप्रिलमा भिसा–फ्री प्रवेश समाप्त गरेको छ । चीनले पनि आफ्नो भिसा–फ्री कार्यक्रममा अमेरिकालाई समावेश गरेन ।
पपुवा न्यु गिनी, म्यानमार, भारत, सोमालिया र भियतनामका नयाँ नियमहरूले पनि अमेरिकी पासपोर्टको प्रभावमा असर पारेका छन् ।
हेनली एन्ड पार्टनर्सका अध्यक्ष क्रिस्चियन एच. कालिनका अनुसार, अमेरिकी पासपोर्टको शक्तिमा आएको गिरावट केवल र्याङ्किङ मात्र नभएर यसले विश्वमा शक्ति सन्तुलन बदलिँदै गएको संकेत गर्छ ।
बेलायती पासपोर्ट पनि कमजोर
यो सूचीअनुसार, बेलायतको पासपोर्ट पनि कमजोर बन्दै छ । यो छैटौं स्थानबाट झरेर आठौं स्थानमा पुगेको छ । सन् २०१५ मा बेलायती पासपोर्ट पहिलो स्थानमा थियो ।
त्यसैगरी, चीनको पासपोर्ट सन् २०१५ मा ९४औं स्थानमा थियो, जुन अहिले ६४औं स्थानमा पुगेको छ । चीनले ३७ नयाँ देशहरूमा भिसा–फ्री पहुँच पाएको छ ।
