बङ्गलादेशकाे कपडा कारखानामा आगलागी: १६ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने
बङ्गलादेश, २९ असाेज । बङ्गलादेशको उत्तरी ढाकामा अवस्थित एक कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा भीषण आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।
अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या बढ्न सक्ने चेतावनी दिँदै आगलागीको कारण हालसम्म पत्ता लाग्न नसकेको बताएका छन्।
चौधरीका अनुसार, कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको छ। उद्धार कार्य र खोजी अभियान जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
नागरिक सुरक्षा अधिकारीहरूले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखानाबाट आगलागी सुरु भएको र त्यसपछि नजिकैको रासायनिक गोदाममा फैलिएको जानकारी दिएका छन्।
बङ्गलादेशमा कपडा कारखानाहरूमा आगलागीका घटना बारम्बार हुने गरेका छन्। यसअघि सन् २०१२ मा ढाकाकै एक कपडा कारखानामा आगलागी हुँदा कम्तिमा १११ जना कामदारको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।