गुल्मीकाे रेसुङ्गा र मदानेकाे वनमा दुर्लभ चराहरूको प्रमुख आश्रयस्थल: ६ प्रजातिका दुर्लभ चरा फेला

गुल्मी, ३० असोज । गुल्मी जिल्लाका रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रहरू विश्वमा पाइने दुर्लभ चराहरूको लागि महत्त्वपूर्ण आश्रयस्थल बन्दै गएका छन्। नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईका अनुसार, गुल्मीमा विश्वका दुर्लभ चराहरूमध्ये ६ प्रजातिका चरा फेला परेका छन्।

रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल जस्ता दुर्लभ प्रजातिका चराहरू भेटिएका छन्। यसबाहेक, नेपालमा मात्र पाइने काँडे भ्याकुर पनि रेसुङ्गा र मदाने वन क्षेत्रमा पाइन्छ।

नेपालमा पाइने ९०२ प्रजातिका चराहरूमध्ये गुल्मीमा मात्रै विभिन्न प्रजातिका ३५ प्रतिशतभन्दा बढी चराहरू फेला परेको अधिकृत भट्टराईले जानकारी दिए। नेपाल पंक्षी संरक्षण सङ्घले विभिन्न समयमा गरेको पंक्षी सर्भेक्षणअनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजातिका चराहरू रेकर्ड गरिएका छन्। जिल्लाका यी दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्भेक्षणअनुसार रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा गरी कुल ३२५ प्रजातिका चराहरूको तथ्याङ्क रेकर्ड गरिएको छ, जुन नेपालमा पाइने चरा प्रजातिको कुल संख्याको ३५ प्रतिशतभन्दा बढी हो।

विश्वमै नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा पनि पाइने भएकोले यसको संरक्षणका लागि अति सङ्कटापूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका स्थानीय एवं सरोकारवालाहरूले जोड दिएका छन्। सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरूको खोजी गर्दै तिनीहरूको संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ।

सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीमा धार्मिक पर्यटनसँगै चरा पर्यापर्यटनको पनि प्रचुर सम्भावना रहेको बताए। यसबाट जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै यसले स्थानीयको जीविकोपार्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

दुर्लभ प्रजातिका चराहरूको संरक्षणका लागि पछिल्लो समयमा वासस्थान विनास, पानीको अभाव, वन–डढेलो, अवैध शिकार र जनचेतनाको कमी मुख्य चुनौतीका रूपमा रहेका छन्। यी चुनौतीहरूको सामना गर्न एकीकृत प्रयास आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन्।