मल्टीस्टोरी पार्किङका लागि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन कावा मेयर डंगोलको आग्रह

 

काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाले मल्टीस्टोरी पार्किङका लागि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ ।

महानगर प्रहरी बलको ३४ औँ स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौंको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टीस्टोरी पार्किङको व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको हो ।

उहाँले संघीय सरकारसँग विशेष अनुरोध गरेको पनि जानकारी दिनुभएको छ । उहाँका अनुसार न्युरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजजात दिन महानगरले आग्रह गरेको हो । ‘यो भएपछि कोर एरियामा रहेको पार्किङ समस्या समाधान हुनेछ । हामी विश्वास गर्छौँ, त्यो कार्य अघि बढाउन तत्पर छौँ,’ उहाँले भन्नुभयो ।

कार्यवाहक मेयर डंगोलले काठमाडौंभरीका पार्किङ समस्या समाधान र व्यवस्थापनमा अध्ययन भइरहेको पनि बताउनुभयो । विज्ञहरूको टोलीले दिएको सुझावका आधारमा समाधानको बाटोमा जाने उहाँको भनाई छ ।