सगरमाथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ प्रदर्शनमा, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा

काठमाडौँ, ३१ असोज । विश्वको सर्वोच्च शिखर सगरमाथालाई केन्द्रमा राखेर तयार पारिएको नेपाली चलचित्र ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा आएको छ। सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित यो चलचित्रले नेपाली सिनेमामा एउटा नयाँ आयाम थपेको छ।

अभिनेता अनमोल केसीले चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्नुका साथै यहाँको सुन्दरतालाई विश्वभर पुर्‍याउन थप मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। चलचित्र प्रदर्शनको पहिलो दिन दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताए।

“हामीले चलचित्रको कथा तयार गर्दा नै नेपाली स्रोत र साधनले सगरमाथालाई कसरी चित्रण गर्न सकिन्छ भनेर धेरै छलफल गरेका थियौँ,” केसीले भने, “किनकि प्राविधिक रूपमा हामीले त्यहाँ छायाङ्कन गर्न सहज छैन, फेरि हामीले नेपाली बजारलाई मध्यनजर गर्दै चलचित्रमा लगानी लगाउनुपर्छ। तर, हामी सबैको मेहनतले आज हामीले चलचित्र तयार गर्न सफल भएका छौँ।”

चलचित्रमा अभिनेता केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गरेका छन्। भूमिकालाई स्वाभाविक बनाउन केसी र उनलाई सगरमाथा चढ्न सघाउने ‘गाइड’ बनेकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिएका थिए। केसीले भने, “हामीले दृश्यमा सगरमाथाको सुन्दरतासँगै त्यहाँ देखिने कलाकार र अन्य पक्ष स्वभाविक लागोस् भनेर शेर्पा दाइहरूकै निगरानीमा काम गरेका थियौँ। यसले एउटा पारिवारिक प्रेम कथासँगै हाम्रै देशमा रहेको सगरमाथाको विशेषतालाई चलचित्रमा ल्याएको छ।”

आजदेखि प्रदर्शनमा आएको ‘जेरी अन टप’ पश्चात् अन्य निर्मातालाई पनि हिमाली कथामा चलचित्र बनाउन प्रेरणा मिल्ने केसीको बुझाइ छ। अभिनेत्री गुरुङले पनि पात्रलाई स्वाभाविक देखाउन सक्दो मेहनत गरेको बताइन्। “हिमालसँग नजिक रहेको युवतीको भूमिका भएकाले पनि मैले त्यहीअनुरूप तयारी गरेँ। हाम्रो देश नेपालको हिमाली भेगको सुन्दरतालाई चलचित्रभर दर्शकले देख्न पाउनुहुनेछ। सार्वजनिक प्रचारप्रसारमा देखिएका श्रव्यदृश्यभन्दा चलचित्र झनै भव्य छ,” गुरुङले भनिन्।

चलचित्रकी अर्की अभिनेत्री आँचल शर्माले झन्डै ११ वर्षअगाडि प्रदर्शन भएको ‘जेरी’ ले युवापुस्तालाई चलचित्र भवनसम्म आकर्षित गरेकोले सोही नामसँग मिल्दो चलचित्र ‘जेरी अन टप’ले पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।

चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए। “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ। चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएकाले यसले पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा लिएको छु। नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मिहिनेत गरेका छौँ,” न्यौपानेले भने।

उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गी लगायत कलाकारले अभिनय गरेका छन्। ‘अनन्या फिल्म्स प्रोडक्सन’बाट निर्मित ‘जेरी अन टप’ को सुयोग गुरूङले निर्देशन गरेका हुन्। यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन गरेका छन्।