पश्चिमी प्रतिबन्ध सामु झुक्यो भारतको रिलायन्स, रुसी तेल आयातबारे पुनर्विचार गर्ने
नयाँ दिल्ली । रुसी तेलको सबैभन्दा ठूलो भारतीय आयातकर्ता, रिलायन्स इन्डस्ट्रिज लिमिटेडले रुसका दुई ठूला तेल कम्पनीहरूमाथि लगाइएको नयाँ पश्चिमी प्रतिबन्धहरूको पालना गर्ने घोषणा गरेको छ। यस घोषणाले कम्पनीले नयाँ परिस्थितिमा कसरी काम गर्छ भन्नेबारे चलेको केही दिनको अनुमानलाई अन्त्य गरिदिएको छ।
रिलायन्सका एक प्रवक्ताले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भने, “रिलायन्सले आफ्ना आपूर्तिकर्ताहरूसँगको सम्बन्ध कायम राख्दै प्रतिबन्धहरूको पालना गर्न आफ्नो रिफाइनरी सञ्चालनलाई अनुकूल बनाउनेछ।”
विज्ञप्तिमा थप भनिएको छ, “जबजब यस सम्बन्धमा भारत सरकारबाट कुनै निर्देशन आउँछ, हामी सधैँझैँ त्यसको पूर्ण पालना गर्नेछौं।”
अमेरिकी र युरोपेली प्रतिबन्धको असर
वाशिङ्गटनबाट रोयटर्सले जनाएअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनमाथि रुसको निरन्तर युद्धबाट निराश बनेपछि बुधबार अमेरिकी ट्रेजरी विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले पहिलो पटक रुसी प्रमुख तेल कम्पनीहरू रोजनेफ्ट र लुकोइललाई प्रतिबन्धको सूचीमा राखेको छ।
अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले यो कदम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “यो अर्थहीन युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले” चालिएको बताएका थिए। उनले आफ्ना सहयोगी राष्ट्रहरूलाई पनि नयाँ प्रतिबन्धहरूको पालना गर्न प्रोत्साहित गरेका थिए।
यसैगरी, ब्रसेल्सबाट एएफपीका अनुसार, अर्को दिन युरोपेली संघ (ईयू) ले रुसविरुद्ध १९ औं प्याकेजको प्रतिबन्ध घोषणा गर्यो, जसमा रोजनेफ्टमाथि पूर्ण कारोबार प्रतिबन्ध समावेश छ। ईयूले यसअघि नै जनवरी २१ देखि ढुवानी हुनुभन्दा ६० दिनअघि रुसी तेल प्राप्त वा प्रशोधन गरेका रिफाइनरीहरूबाट इन्धन आयात नगर्ने बताएको थियो।
रिलायन्स र रुसी तेल
अरबपति व्यवसायी मुकेश अम्बानीको अध्यक्षतामा रहेको रिलायन्सले पश्चिमी गुजरातमा विश्वको सबैभन्दा ठूलो रिफाइनरी कम्प्लेक्स सञ्चालन गर्दछ। प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, भारतमा आयात हुने कुल १७ देखि १८ लाख ब्यारेल प्रति दिन (बीपीडी) सस्तो रुसी कच्चा तेलमध्ये लगभग आधा हिस्सा रिलायन्सले खरिद गर्दै आएको छ।
सन् २०२४ मा, रिलायन्सले रोजनेफ्टसँग लगभग ५ लाख बीपीडी तेल खरिद गर्न १०-वर्षे सम्झौता गरेको थियो। यसबाहेक, कम्पनीले मध्यस्थकर्ताहरूबाट पनि रुसी तेल खरिद गर्दै आएको छ।
रिलायन्सले प्रतिबन्धहरूलाई कसरी व्यवस्थापन गर्नेछ वा सन् २०२४ को रोजनेफ्ट सम्झौताको भविष्य के हुनेछ भन्नेबारे विस्तृत जानकारी दिएको छैन, तर युरोपेली आयात आवश्यकताहरूको पालना गर्ने कुरामा जोड दिएको छ।
कम्पनीका प्रवक्ताले भने, “रिलायन्स विश्वस्त छ कि हाम्रो समय-परीक्षित र विविध कच्चा तेल खरिद रणनीतिले घरेलु तथा युरोप लगायतका निर्यात आवश्यकताहरू पूरा गर्न रिफाइनरी सञ्चालनमा स्थिरता र विश्वसनीयता सुनिश्चित गरिरहनेछ।”
भारतमाथि दोहोरो दबाब
यो प्रतिबन्ध यस्तो समयमा आएको हो, जब भारतले रुसी तेल आयात गरेकोमा दण्डस्वरूप अगस्टदेखि ५० प्रतिशतसम्म बढाइएको ट्रम्पको ट्यारिफको सामना गरिरहेको छ। चीन र भारत विश्वमा रुसी कच्चा तेलका सबैभन्दा ठूला आयातकर्ता हुन्।
पछिल्लो एक महिनामा राष्ट्रपति ट्रम्पले पटक-पटक दाबी गरेका छन् कि भारतले एक बृहत् व्यापार सम्झौताको हिस्साको रूपमा रुसी तेल किन्न बन्द गर्न सहमति जनाएको छ, तर भारत सरकारले यस दाबीको पुष्टि गरेको छैन।
बुधबार प्रतिबन्ध घोषणा भएदेखि भारतको विदेश मन्त्रालय वा तेल मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।(न्यूज एजेन्सी)
