सुडानी अर्धसैनिक बलद्वारा डार्फरको एल–फासर नियन्त्रणमा लिएको दाबी

काठमाडौँ, कार्तिक ९ ।  सुडानको पश्चिमी क्षेत्र डार्फरको अन्तिम प्रमुख शहरी केन्द्र एल–फासरलाई पूर्ण नियन्त्रणमा लिएको अर्धसैनिक बल (आरएसएफ) ले आइतबार दाबी गरेको छ । आरएसएफले जारी गरेको विज्ञप्तिमा सुडानी सेनालाई लक्षित गर्दै “भाडाका सैनिक र लडाकुको पकडबाट एल–फासर शहर नियन्त्रणमा आएको” उल्लेख छ । सुडानको सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि उक्त क्षेत्रमा लडाइँ जारी छ ।

यद्यपि, एएफपीले आरएसएफको दाबीलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन किनभने सेना र यसका सहयोगीहरूले टिप्पणीका लागि कुनै जवाफ दिएका छैनन् । यसअघि आरएसएफले सन् २०२४ को अप्रिलदेखि घेराबन्दीमा रहेको सहरस्थित सेनाको मुख्यालय कब्जा गरेको बताएको थियो । स्थानीय समर्थक सेनाको लडाकु समूह ‘पपुलर रेजिस्टेन्स’ले आरएसएफमाथि मनोबल कमजोर पार्न “मिडिया दुष्प्रचार अभियान” चलाएको आरोप लगाएको छ । समूहले बासिन्दाहरूले अझै पनि “आतङ्कवादी लडाकुको सामना गरिरहेका” बताएको छ ।

अगस्टदेखि आरएसएफले एल-फासरमा तोपखाना र ड्रोन आक्रमण तीव्र पारेको थियो, जसले १८ महिनाभन्दा बढीको घेराबन्दीपछि सेनाको अन्तिम रक्षात्मक रेखाहरू नष्ट गरेको बताइएको छ । आरएसएफको एक भिडियोमा आइतबार सेनाका गाडीहरू मुख्यालयबाट पछि हटेको र छैटौं इन्फेन्ट्री डिभिजन बेसमा लडाकुहरू उत्सव मनाइरहेको देखाइएको थियो । दक्षिण डार्फर राज्यको राजधानी न्यालाको फुटेजमा पनि आरएसएफका लडाकुहरू स्थानीयहरूसँगै उत्सव मनाइरहेको देखिएको छ ।

यदि यो पुष्टि भयो भने, एल–फासरको कब्जा सुडानको दुई वर्षे युद्धमा एक प्रमुख मोड हुनेछ । यो युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ र लगभग १ करोड २० लाख मानिसहरू आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका छन् । एल–फासरको नियन्त्रणले डार्फर राज्यका सबै पाँच सदरमुकामहरूलाई आरएसएफको नियन्त्रणमा ल्याउनेछ र न्यालामा भर्खरै स्थापित समानान्तर प्रशासनलाई सुदृढ गर्नेछ । यसले सुडानलाई प्रभावकारी रूपमा सरकारी सेना र विद्रोही समूह आरएसएफबीच सीमा निर्धारण गराउनेछ । हाल सेनाले उत्तर, पूर्व र मध्य भाग कब्जा गरेको छ भने आरएसएफले डार्फर र दक्षिणका केही भागहरूमा प्रभुत्व जमाएको छ ।

युद्धका कारण आधा सङ्ख्यामा बालबालिकासहित लगभग २ लाख ६० हजार नागरिकहरू सहायता वा खाना बिना एल–फासरमा फसेका अधिकारवादी सङ्घसंस्थाहरूले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका चार निकायले बिहीबार स्वास्थ्य सेवा ध्वस्त भएका कारण हजारौँ कुपोषित बालबालिका मृत्युको खतरामा रहेको चेतावनी दिएका छन् । डार्फर क्षेत्रमा हत्या, यौन हिंसा र जबर्जस्ती भर्तीका घटनाहरू दिनानुदिन बढिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घले यसअघि अप्रिलमा आरएसएफले नजिकैको जामजाम शिविर कब्जा गरेपछि एल–फासरमा गैर-अरब समुदायलाई लक्षित गरी सम्भावित नरसंहारबारे चेतावनी दिएको थियो । बारम्बार अन्तर्राष्ट्रिय अपिल गरिए पनि अत्याचार गरेको आरोप लागेका दुवै पक्षले युद्धविरामको आह्वानलाई बेवास्ता गरेका छन् ।

संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरूले शुक्रबार वाशिङ्गटनमा “सुडानमा शान्ति र स्थिरताका लागि सामूहिक प्रयासलाई अगाडि बढाउन” र नागरिक शासनमा सङ्क्रमणकालको घोषणाका लागि बैठक गरेको अरब र अफ्रिकी मामिलाका लागि अमेरिकाका वरिष्ठ सल्लाहकार मसाद बोउलोसले बताउनुभयो । चार देशहरूले पछिल्लो बैठकबाट सेप्टेम्बरको शान्ति प्रस्तावका लागि आफ्नो पहल पुनः प्रतिबद्धता जाहेर गर्दै तीन महिनाको युद्धविराम र त्यसपछि स्थायी युद्धविराम र नागरिक शासनको आह्वान गरिएको बताएका छन् । तर बैठकले थोरै मात्र ठोस प्रगति गरेको देखिन्छ ।