तीन शय विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण

ताप्लेजुङ, १० कात्तिक । पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्नका लागि पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। यस याममा ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण गरेका छन्।

फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए। अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड छन्।

गत साता चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेका थिए। विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहणका लागि फ्रान्सका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताउनुभयो। सो हिमालको उचाइ सात हजार ७१० मिटर रहेको छ।

विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका बताइएको छ। पछिल्ला वर्षहरूमा यहाँका हिमालहरू उत्साहकासाथ आरोहण गर्न थालिएका छन्। गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेका थिए।

गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो। चिलिका एक नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन्। केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन्। गत भदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमण याम रहने शेर्पाले बताउनुभयो।

पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए। सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो।