कञ्चनपुर कारागारबाट भागेकामध्ये ३८८ कैदीबन्दी फिर्ता, ९९ अझै फरार

कञ्चनपुर, १० कात्तिक । जेनजी आन्दाेलनमा  जिल्ला कारागार कञ्चनपुरबाट भागेका कैदीबन्दीमध्ये हालसम्म ३८८ जना फिर्ता भएका छन् । फिर्ता हुनेमा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार, कारागार तोडफोडपछि फरार भएका कुल कैदीबन्दीमध्ये अझै ९९ जनाको अत्तोपत्तो छैन । फरार रहेकामध्ये १७ जना महिला कैदी समेत छन् । जोशीका अनुसार, फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो ।

हाल कञ्चनपुर कारागारमा १४ जना भारतीय नागरिकले कैद सजाय भोगिरहेका छन् भने १७ जना भारतीय कैदी अझै फरार रहेको जानकारी दिइएको छ । कारागार प्रशासनले स्वेच्छिक रूपमा फिर्ता हुन तोकेको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने जनाएको छ ।

निमित्त प्रशासक जोशीले फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था रहेको बताए । कारागार प्रशासनले पटक-पटक स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाएको जोशीको भनाइ छ ।