चीन र भारतबीच पाँच वर्षपछि सीधा उडान पुनः सुरु
गुआङ्झाउ/नयाँ दिल्ली । पाँच वर्षको अन्तरालपछि चीन र भारतबीच सीधा हवाई उडान पुनः सुरु भएको छ। इन्डिगो एयरलाइन्सको उडान नम्बर ६ई१७०३ कोलकाताबाट प्रस्थान गरी सोमबार बिहान करिब ४ बजे (नेपाली समयअनुसार बिहान साढे ५ बजे) दक्षिणी चीनको गुआङ्झाउ सहरमा अवतरण गरेको छ। उक्त उडानमा करिब १८० यात्रु सवार थिए।
विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका राष्ट्रहरूबीच कूटनीतिक सम्बन्धमा आएको चिसोपनपछि सम्बन्ध सुधारको दिशामा यो महत्वपूर्ण कदम मानिएको छ।
भारत सरकारले उडान पुनः सुरु हुँदा यसले “जनस्तरीय सम्पर्क” बढाउने र “द्विपक्षीय आदानप्रदानको क्रमिक सामान्यीकरण”मा सहयोग पुग्ने बताएको छ।
छिमेकी दुई देशबीच हवाई उडान सन् २०२० को प्रारम्भमा कोभिड–१९ महामारीका कारण बन्द भएको थियो। त्यसपछि हिमालय क्षेत्रको साझा सीमानामा भएको घातक झडपले दुवै देशबीच तनाव उच्च बनेको छ।
यद्यपि, हालैका महिनाहरूमा दुवै देशले सम्बन्ध सुधार गर्ने प्रयासमा केही सकारात्मक संकेत देखाएका छन्।