२०औँ पूर्वी एसिया शिखर सम्मेलन (इएएस)

पूर्वी एसिया शिखर सम्मेलनमा विपद् लचिलोपनका लागि स्थानीयकरणको पक्षमा ऐतिहासिक वक्तव्य जारी

काठमाडौँ, कार्तिक ११ । सोमबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न २०औँ पूर्वी एसिया शिखर सम्मेलन (इएएस) का नेताहरूले विपद् तयारी र प्रतिक्रियामा स्थानीयकरणलाई प्रवर्द्धन गर्ने एउटा ऐतिहासिक वक्तव्य पारित गरेका छन् । यस वक्तव्यले विपद्को सामना गर्न र लचिलोपन निर्माणका लागि स्थानीय क्षमता र सामुदायिक सशक्तीकरणलाई प्राथमिकता दिन सहभागी देशहरूको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

मलेसियाको आसियान अध्यक्षतामा पारित यो वक्तव्यले विश्वव्यापी रूपमा बढ्दो वातावरणीय जोखिम, तीव्र सहरीकरण, र सामाजिक–आर्थिक चुनौतीहरूलाई मध्यनजर राख्दै प्रभावकारी क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड दिएको छ । नेताहरूले सन् २००९ को चा–आम हुआ हिन वक्तव्य र सन् २०१४ को द्रुत विपद् प्रतिकार्य वक्तव्यसहितका अघिल्ला प्रतिबद्धताहरूलाई स्मरण गर्दै तयारी, प्रतिक्रिया र पुनःप्राप्तिमा स्थानीय सहभागिता बढाउनेमा जोड दिएका छन् ।

वक्तव्यमा उल्लेख भएअनुसार, स्थानीय सरकार, समुदाय, निजी क्षेत्र र संस्थाहरूको सक्रिय सहभागिता प्रकोप व्यवस्थापनमा एक प्रभावकारी संयन्त्र साबित भएको छ। आसियानको एएडिएमइआर, ‘वन आसियान, वन रिस्पोन्स’ घोषणा, र सेन्डाई फ्रेमवर्क (२०१५-२०३०) जस्ता क्षेत्रीय तथा विश्वव्यापी ढाँचामा पनि स्थानीयकरणलाई प्रमुख सिद्धान्तका रूपमा मान्यता दिइएको छ । इएएस नेताहरूले स्थानीय अग्रिम कार्यलाई सशक्त बनाउने, जोखिम-सूचित लगानीमा जोड दिने, र समयमै चेतावनी प्रणाली विकास गर्ने आवश्यकतामा बल दिए । विज्ञान र प्रविधिमा आधारित जोखिम मूल्याङ्कन, जिआइएस प्रविधि, र  एआई-सञ्चालित पूर्वानुमान मोडेलमार्फत समुदायहरूलाई सचेत बनाउने पहललाई पनि प्रोत्साहन गरिएको छ ।

वक्तव्यले स्थानीय अधिकारी र समुदायहरूलाई आपत्कालीन प्रतिक्रिया, पुनःप्राप्ति र पुनर्निर्माणमा केन्द्रीय भूमिका दिनुपर्नेमा जोड दिएको छ । साथै, आसियान, निजी क्षेत्र, शैक्षिक संस्था, गैरसरकारी सङ्गठन, र रेडक्रस/रेड क्रिसेन्ट मुभमेन्टबीच सहकार्य सुदृढ पार्न आह्वान गरिएको छ । इएएस सदस्य राष्ट्रहरूले द्रुत निर्णय, समयमै अग्रिम कार्य, र वित्तीय संयन्त्र सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले स्थानीय ज्ञान र सांस्कृतिक अभ्यासलाई विपद् प्रतिक्रियामा उपयोगी सम्पदा मान्दै पहिलो उत्तरदाताका रूपमा समुदायहरूको भूमिकालाई सम्मान गरेका छन् । क्वालालम्पुरमा पारित उक्त वक्तव्यले स्थानीय सशक्तीकरण, सहकार्य, र अग्रिम कार्यद्वारा प्रकोप-लचिलो पूर्वी एसिया निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ ।