जनकपुर बोल्टमा दक्षिण अफ्रिकाका बलर पार्नेल
काठमाडौं कात्तिक १२ गते। च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्न दक्षिण अफ्रिकाका फास्ट बलर वायने पार्नेल ल्याउने भएको छ । यसका लागि जनकपुर बोल्ट्सले पार्नेलसँग सम्झौता गरिसकेको छ ।
३६ वर्षे पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले सन् २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप खेलेका थिए भने त्यसको २ वर्षपछि मलेसियामा भएको यू–१९ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए । पार्नेलले इन्डियन प्रिमियर लिगमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन् । उ
‘म एनपीएल खेल्न जानलाई निकै उत्साहित छु, मैले नेपाली क्रिकेट समर्थकहरुको जोशलाई देखेको छु । एनपीएलको बारेमा पनि धेरै राम्रा पक्षहरु सुनेको छु । जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा समर्थकहरुको अगाडि खेल्नलाई म आत्तुर छु । मैदान भित्र होस वा बाहिर जनकपुर बोल्ट्सको एउटा हिस्सा बन्न पाउदा म निकै उत्साहित छु,’ पार्नेलले भने । ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ । वेस्ट इन्डिज क्रिकेटका महान हस्ती शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ ।
बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले पार्नेललाई अनुबन्ध गर्न पाउदा निकै उत्साहित रहेको जनाए । ‘पार्नेलले यू–१९ देखि राष्ट्रिय टोलीबाट खेल्दै लामो अनुभव संगाली विश्व क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । यस्तो ठुलो अनुभवले हाम्रो टोलीको उपािध जोगाउने अभियानलाई बलियो बनाउने छ । नेपाली क्रिकेट प्रेमीलाई उनको विश्व स्तरीय खेल कौशल देखाउने अवसर पाउनु हाम्रो लागि गौरवको कुरा हो । पार्नेलले बोल्ट्स टोलीमा मात्र होइन, नेपाल प्रिमियर लिगमै ठुलो विश्वास पुर्याउने छ ।’
जनकपुर बोल्ट्सले आफ्नो प्रशिक्षण क्याम्प अहिले भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ । टोलीका तीन खेलाडी आसिफ शेख, ललित राजवंशी र अनिल साह नेपाली टोलीबाट विश्व क्रिकेट लिग २ खेल्न दुबईमा रहेका छन् ।