नाइजेरियामा सैनिक कारबाहीका दुई विकल्पमा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाडौँ, कार्तिक १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीमा  नाइजेरियामा अमेरिकी सेना पठाएर वा हवाई आक्रमण गरेर सैन्य कारबाही गर्न सकिने सम्भावना व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ट्रम्पले भन्नुभयो, ‘सेना पठाउन सकिन्छ । हवाई हमला पनि गर्न सकिन्छ । अरू विकल्प पनि छन् । म धेरै कुरा सोचिरहेको छु। नाइजेरियामा रेकर्ड संख्यामा इसाईहरूको हत्या भइरहेको छ । हामी त्यस्तो हुन दिन्नौं ।’

उहाँले शनिबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा एक पोस्टमार्फत् इसाईहरूको हत्या भइरहेको भन्दै नाइजेरियामा सैन्य कारबाहीको चेतावनी दिनुभएको थियो । उहाँले इसाईहरूको हत्या रोक्न असफल भए द्रुत गतिमा सैन्य कारबाहीका लागि तयार रहन रक्षा मन्त्रालयलाई निर्देशन समेत दिनुभएको खुलाउनुभएको थियो । यसैगरी, अमेरिकी सरकारले नाइजेरियालाई दिँदै आएको सम्पूर्ण सहयोग र सहायता तुरुन्तै रोक्ने पनि उहाँले धम्की दिनुभएको छ ।

नाइजेरियामा इसाई, इस्लाम र अन्य परम्परागत धर्म मान्ने करिब २०० जातीय समूहहरू छन् । ती समूहबीच जातीय हिंसा हुने यस देशमा बोको हराम, इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स लगायत मुस्लिम आतङ्कवादीले इसाईहरूको हत्या गर्ने गर्छन् । ती आतङ्कवादीहरूले मुसलमानकै पनि हत्या गर्ने भए पनि नाइजेरिया सरकारले इसाईहरूको हत्या नियन्त्रण गर्न नसकेको भन्दै ट्रम्पले सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

धार्मिक स्वतन्त्रताको उल्लङ्घन गरेको भन्दै अमेरिकाले बनाएको ‘विशेष चिन्ताका देशहरू’को सूचीमा नाइजेरियालाई फेरि समावेश गरेको भोलिपल्ट ट्रम्पले सैन्य कारबाहीको धम्की दिनुभएको हो । सो सूचीमा रहेका अन्य देशहरूमा चीन, म्यानमार, उत्तर कोरिया, रुस र पाकिस्तान पर्छन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथज्यूले पनि आफ्नो मन्त्रालय कारबाहीको लागि तयारी गर्दैछ भनेर बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘या त नाइजेरियाली सरकारले इसाईहरूको रक्षा गर्छ, या त यी भयानक अत्याचार गर्ने इस्लामिक आतंकवादीहरूलाई हामी मार्नेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *