चुनाव प्रचार गरिरहेका एक व्यक्तिको हत्या : राजनीतिक माहोल तनावग्रस्त
काठमाडौँ, कार्तिक १८ । बिहीबार पटनाको मोकामा विधानसभा क्षेत्रमा जनसुरज पार्टीका एक कार्यकर्ताको हत्या भएपछि माहोल तनावग्रस्त बनेको छ । बिबिसीका अनुसार हत्या गरिएका व्यक्ति जनसुरज पार्टीका उम्मेदवार पियुष प्रियदर्शीका दुलारचन्द यादव हुन् । पटना जिल्लाका प्रमुख प्रशासक त्यागराजन एसएमले विज्ञप्ती जारी गर्दै दुई पक्षबीच झडप भएपछि दुलारचन्दको हत्या भएको पुष्टि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘झडपका क्रममा शंकास्पद अवस्थामा दुलारचन्द यादवको मृत्यु भएको छ । उनी पहिलेका धेरै आपराधिक मामिलामा समेत संलग्न थिए । घटनाको अनुसन्धान र पक्राउ कार्य जारी छ ।’ दुलारचन्द यादव यसअघि आरजेडी प्रमुख लालुप्रसाद यादवका निकट सहयोगी थिए । बिहारका हालका मुख्यमन्त्री नितिशकुमारको निकटमा रहेर पनि दुलारचन्दले काम गर्नुभएको थियो ।
मोकामा विधानसभा क्षेत्र परम्परागत रूपमा विवादास्पद र प्रभावशाली नेताहरूको आधार क्षेत्र मानिन्छ । यही क्षेत्रबाट विगतमा अनन्त सिंह विजयी हुँदै आएका छन् । यसपालि पनि जेडीयूले अनन्त सिंहलाई उम्मेदवार बनाएको छ भने आरजेडीले सूरजभान सिंहकी पत्नी वीणा देवीलाई टिकट दिएको छ । हत्या प्रकरणमा दुलारचन्दका परिवारजन र जनसुराजका उम्मेदवार प्रियदर्शीले जेडीयू उम्मेदवार अनन्त सिंहमाथि प्रत्यक्ष आरोप लगाउनुभएको छ । तर, अनन्त सिंहले आफू निर्दोष रहेको दाबी गर्दै यो घटनालाई विपक्षीको षड्यन्त्र भन्नुभएको छ ।
यस घटनाले राज्यको राजनीतिक माहोल तताएको छ। आरजेडी नेता तेजस्वी यादवले सामाजिक सञ्जालमार्फत आरोप लगाउँदै भन्नुभयो, ‘मोकामा क्षेत्रमा सत्ता संरक्षित गुण्डाहरूले सामाजिक कार्यकर्ता दुलारचन्दको हत्या गरेका छन्। एनडीए उम्मेदवारहरूको अहंकार र हिंस्रक प्रवृत्तिका कारण नै आज यस्तो अवस्था आएको हो ।’ जनसुरजका संस्थापक प्रशान्त किशोरले थप विविरणपछि आधिकारिक वक्तव्य सार्वजनिक गरिने बताउनुभयो ।
जेडीयूका प्रवक्ता नीरज कुमारले यस्ता घटना लोकतान्त्रिक मूल्य विरुद्धका कार्य रहेको बताउनुभयो। उहाँले दोषी जो भए पनि कानुनले कारबाही गर्ने बताउनुभयो । दुलारचन्द यादव ९० को दशकमा लालु र नीतीश दुबैसँग निकट थिए । उनी बाढ-मोकामा क्षेत्रका प्रभावशाली नेतामध्ये एक थिए ।
२४३ सदस्यीय बिहार विधानसभा निर्वाचन दुई चरणमा हुनेछ। पहिलो चरणको मतदान नोभेम्बर ६ (कात्तिक २० गते) मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ (कात्तिक २५) मा हुनेछ । मतगणना नोभेम्बर १४ (कात्तिक २८) मा हुनेछ। बिहारमा ७ करोड ४२ लाख मतदाता छन् । यो निर्वाचन दुई वटा गठबन्धनबीच भिडन्त हुनेछ । राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको ‘महागठबन्धन’मा कंग्रेस, भारतीय कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) र विकासशील इन्सान पार्टी सामेल छन् । यो महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेको छ । ३५ वर्षीय यादव बिहारका बहुचर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा हुन् । पछिल्लो समय उनी बिहारको प्रतिपक्षी दल आरजेडीका नेता हुन् ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको ‘एनडिए’ गठबन्धनले जनता दल (युनाइटेड) का नितिश कुमारलाई आफ्नो तर्फबाट भावी मुख्यमन्त्री घोषणा गरेको छ । नितिश कुमार दसौंपटक मुख्यमन्त्री बन्ने दौडमा छन् । उनी पछिल्लो पटक महागठबन्धन त्यागेर भाजपाकै समर्थनमा नवौं पटक मुख्यमन्त्री बन्नुभएको थियो। पटक पटक गठबन्धन फेरिरहने भएकाले उनलाई विपक्षीहरू ‘पल्टुराम’ भन्छन् ।
