इमरान ताहिर जनकपुर बोल्ट्समा
काठमाडौँ, कात्तिक २३ गते । अन्तर्राष्ट्रिय क्रिकेटका निकै अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । मंसिर १ बाट सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको हो ।
ताहिरसँग सबैखाले खेलमा गरि झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ । पाकिस्तानमा जन्मिएका ४६ वर्षे ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एकदिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी २० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन् । उनले सबैखाले ४४६ टी २० मा ५७० विकेट लिएका छन् ।
उनी २०११ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजस“ग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । उक्त खेलमा उनले ४ विकेट लिएका थिए । ताहिरलाई समावेश गरेपछि जनकपुर बोल्ट्सले आफ्नो बलिङ विभाग अझ मजबुत भएको जनाएको छ । ‘विश्व क्रिकेटमा परिचित नाम इमरान ताहिरको आगमनले हाम्रो टिममा अनुभव, ऊर्जा र विश्वस्तरीय स्तरको आत्मविश्वास थपेको छ । हामी विश्वास गर्छौं, उनको उपस्थितिले हाम्रो युवा टोलीलाई अझ प्रेरित गर्नेछ,’ ताहिरलाई अनुबन्ध गरेपछि जनकपुर बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले भने, ‘जनकपुर बोल्ट्सले यसअघि पनि अन्तर्राष्ट्रिय खेलाडीहरूलाई स्वागत गर्दै नेपाली क्रिकेटमा व्यवसायीकता र प्रतिस्पर्धात्मकता बढाउदै आएको थियो । आगामी सिजनमा बोल्ट्स ‘बिल्ट फर भिक्ट्री’ को नारा लिएर मैदानमा उत्रिनेछ ।
ताहिरले विश्वभरका सवै फ्रेन्चाइज लिग खेल्दै आफ्नो जादु देखाउदै आएका छन् । उनले इंग्ल्यान्डका ६ टिमबाट टी २०, दक्षिण अफ्रिकाका ३ फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका ३ फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन् । उनले विश्वका कुल ५० टोलीबाट खेलिसकेका छन् ।
बोल्ट्सले यस सिजनको एनपीएलका लागि भित्राइएका ताहिर तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था र भेट्रान दक्षिण अफ्रिकी फास्ट बलर वायने पार्नेललाई अनुबन्ध गरिसकेको छ । वेस्ट इन्डिज क्रिकेटका महान हस्ती शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ ।