रोनाल्डोको घोषणा : सन् २०२६ को विश्वकप अन्तिम हुनेछ

काठमाडौँ, कार्तिक २५ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी सन् २०२६ मा हुने फिफा विश्वकप आफ्नो करियरको अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलहरूमा ९५० भन्दा बढी गोल गरिसकेका ४० वर्षीय रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने संकेत पनि दिएका छन् । साउदी फोरमसँगको भिडियो लिङ्कमा सोधिएको प्रश्नमा रोनाल्डोले भने, “यो निश्चित हो, सन् २०२६ मेरो विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ । म ४१ वर्षको हुन लाग्दैछु र मलाई लाग्छ यो क्षण अन्तर्राष्ट्रिय खेलबाट बिदा लिन उपयुक्त हुनेछ ।”

सन् २०२३ मा साउदी अरबको अल नासर क्लबमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता पनि आफूले चाँडै नै सन्यास लिने बताउँदै “सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु” भनेका थिए । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकपमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन् । सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित हुँदा उनको नेतृत्वमा पोर्चुगल उपाधिको सबैभन्दा नजिक पुगेको थियो ।

पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपका लागि हालसम्म छनोट हुन सकेको छैन । तर, बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ । रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा आबद्ध भएका थिए । उनको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडीहरू भित्र्याउनका लागि ढोका खुलेको छ ।

आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा फिफाले सन् २०३४ को विश्वकप आयोजनाको अवसर दिने घोषणा गरेको थियो ।