नेपालले कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकबाट पायो रु १ अर्ब १९ करोड

काठमाडौँ, ३० कात्तिक। नेपालले तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट १ अर्ब १९ करोड रुपैयाँ प्राप्त गरेको छ।

यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट अनुसार नेपालले प्राप्त गरेको पहिलो भुक्तानी हो। यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयासहरूलाई थप प्रोत्साहन मिलेको विश्व बैंकले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।

विश्व बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार गर्न बल पुग्ने विश्वास व्यक्त गरेको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *