शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ हेक्टर जग्गा अतिक्रमणमा १३९ हेक्टर भारतीय नागरिकद्वारा अतिक्रमण, मानव-वन्यजन्तु द्वन्द्व बढ्दो

कञ्चनपुर, ३० कात्तिक। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कुल ५१४.३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ। निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४.४२ हेक्टर र नेपाल–भारत सिमानाको पिल्लर नम्बर २८ क्षेत्रमा करिब १३९.८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरी बसोबास गरिरहेका छन्। यी अतिक्रमणकारीहरू तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरू हुन्।

यसैगरी, नेपाल–भारत सिमाना पिल्लर नम्बर २८ क्षेत्रमा भारतीय नागरिकले करिब १३९.८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरी खेती गर्दै आएका छन्।

सूचना अधिकारी वाग्लेले निकुञ्जको मध्यवर्ती क्षेत्र (कोर एरिया)मा मानवबस्ती बसेकाले वन्यजन्तुको बासस्थानमा असर पुगेको बताउनुभयो। उहाँका अनुसार, “कोर एरियामा निकुञ्जबाट विस्थापित भएकाहरू बस्दै आएका छन्, यसले वन्यजन्तुको बासस्थानमा समस्या हुन्छ। यहाँ बस्नेहरूले पनि न्यूनतम सेवासुविधा पाउन सक्दैनन्। सोही कारणले कोर एरियामा बस्ती हुँदा दुवै पक्षलाई असर परेको छ।”

निकुञ्जबाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेको भनाइ छ। हालसम्म ३३ वटा आयोग बने पनि आरक्ष विस्थापितको समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो। नेपाल–भारत सिमानाको पिल्लर नम्बर २८ र २७ बीचको निकुञ्ज क्षेत्रमासमेत अतिक्रमण भएको छ। सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको वाग्लेले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएका छन्, त्यो क्षेत्रमा हाम्रो पनि दाबी छ। गत जेठमा पिल्लर नम्बर २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेका छौँ।” भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको उहाँले जानकारी दिनुभयो।

सूचना अधिकारी वाग्लेका अनुसार अहिले निकुञ्जको सुरक्षामा राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका १५ वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट सेना खटिएका छन्।

विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) को पूर्वी क्षेत्र विस्तार गर्ने क्रममा विस्थापित भएकाहरू निकुञ्जको विभिन्न स्थानमा अतिक्रमण गरेर बसेकाले मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ। यहाँ एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट ३ महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ।