धुलिखेल-खावा सडकखण्डको स्तरोन्नति पुनः सुरु, नयाँ कम्पनीसँग सम्झौता

काभ्रेपलाञ्चोक, ३ मङ्सिर । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई पुनः अगाडि बढाउन नयाँ प्रक्रिया थालिएको छ ।

यसका लागि हालै मात्र नयाँ निर्माण कम्पनीसँग सम्झौता कार्य सकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्रे सक्ने र बाँकी काम क्रमशः निर्धारित समयमा सकिनेछ । यसअघि निर्माणमा ढिलासुस्तीका कारण तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको थियो ।

भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै पुनः विस्तार कार्य गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यालयले पुरानो ठेक्का रद्द गरेको साढे चार महिनापछि साउनमा पुनः बोलपत्र आह्वान गरेको हो । चार किलोमिटर लामो उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी रहेको योगेशले बताउनुभयो ।
उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । उक्त मुद्दा गत असार २५ गते खारेज भई अदालतको आदेशानुसार पुनः ठेक्का खोल्ने प्रक्रिया अघि बढाइएको योगेशले जानकारी दिनुभयो । त्यतिबेला कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजनक र विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निर्णयमा पुगिएको उहाँले बताउनुभयो ।

अरनिको राजमार्ग, जुन नेपालको चीनसँगको उत्तरी नाका तातोपानी, दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडक हो, समयमै नबन्दा यात्रुहरू धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि खावासम्मको सडक विस्तारको काम गौरी–पार्वती निर्माण सेवा कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको थियो । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाइएको छ । जिपलाइनदेखि तल खावासम्मको सडक भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी छ । २०८१ जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षाले सबै बगाएर खण्डहरझैँ बनाएको थियो ।

करिब चार वर्षसम्म उक्त सडक नबनी अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा समेत यात्रुले निकै सास्ती खेप्नुपरेको थियो । निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माण ठप्पप्रायः थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते ठेक्का रद्द गरेको थियो ।

यसैबीच, स्रोत सुनिश्चित भई नयाँ ठेक्कामा गएपछि सडक पक्की गर्न केही महिना लाग्ने भएकाले सवारी साधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको कार्यालयले जनाएको छ । योगेशले भन्नुभयो, “अब नयाँ ठेक्काको प्रक्रिया अन्तिम चरणमा पुगेको छ, यही मङ्सिरदेखि सुरु हुने भएकाले सवारी साधन तथा यात्रुलाई सहजताका लागि समयसमयमा खाल्डाखुल्डी पुर्ने काम गर्दै आएका छौँ ।”
सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना भई यात्री घाइते भइसकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको छ ।