षडानन्द पुरस्कार

मुन्धुमविद् बैरागी काइँला र संस्कृतिविद् काशीनाथ तमोट सम्मानित

काठमाडौँ,  मङ्सिर ९ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले वरिष्ठ मुन्धुम संस्कृतिविद्, साहित्यकार तथा याक्थुङ-लिम्बू भाषाका धरोहर तिलविक्रम नेम्वाङ (बैरागी काइँला) लाई ‘षडानन्द राष्ट्रिय पुरस्कार’ बाट सम्मानित गरेको छ । प्रतिष्ठानको १८औँ वार्षिकोत्सव तथा आबाल ब्रह्मचारी षडानन्दको १५१औँ जयन्तीका अवसरमा आइतबार आयोजित एक विशेष समारोहका बीच काइँलालाई १ लाख रुपियाँ नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

सोही समारोहमा नेवारी संस्कृति, भाषा तथा वाङ्मयका विशिष्ट अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई ‘षडानन्द क्षेत्रीय पुरस्कार’ प्रदान गरिएको छ। उहाँलाई ५१ हजार रुपियाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरियो । स्रष्टाहरूलाई योग तथा तन्त्रविद् प्रा. विद्यानाथ उपाध्याय भट्टले सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रा. भट्टले सम्मानित व्यक्तित्वहरूलाई ‘भाषा, संस्कृति र वाङ्मय क्षेत्रका प्रकाशस्तम्भ’ को संज्ञा दिनुभयो । उहाँले मुन्धुम दर्शन र नेवारी ऐतिहासिक भाषिक संरचनाको अध्ययनमा दुवै स्रष्टाको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।

सम्मान ग्रहण गर्दै वरिष्ठ साहित्यकार बैरागी काइँलाले आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “याक्थुङ-लिम्बू भाषा, लोक साहित्य तथा मुन्धुम संस्कृतिको संरक्षण र प्रवर्द्धनमा मैले गरेको पाँच दशक लामो प्रयासको कदर भएको महसुस गरेको छु।” उहाँले यस्ता सम्मानले सिर्जनात्मक क्षेत्रमा लाग्नेहरूलाई थप ऊर्जा प्रदान गर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतमले भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बर्सेनि योगदानकर्ताहरूलाई सम्मान गरिँदै आएको बताउनुभयो। उहाँले संस्थाले आगामी दिनमा पनि राष्ट्रिय तथा क्षेत्रीय प्रतिभाहरूको खोजी, अध्ययन र दस्तावेजीकरणको कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा ‘षडानन्द सिताराम गुठीको वर्तमान अवस्था’ नामक अध्ययन प्रतिवेदन विमोचन गरिनुका साथै संस्थाका दाताहरूलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्वान्, अनुसन्धानकर्ता, साहित्यकार तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।