कप्तान अशोक धामीको अलराउन्ड प्रदर्शनको सहयोगमा नेपाल एसीसी यू–१९ को सेमिफाइनलमा

काठमाडौँ, मङ्सिर ११ गते । कप्तान अशोक धामीको अलराउन्ड प्रदर्शनको सहयोगमा नेपालले बिहिबार हङकङ चाइनालाई ११९ रनले हराएर एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाएको छ ।

संयुक्त अरब इमिरेट्सको आजमानस्थित सेभेन डिस्ट्रिक्ट मैदान २ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा सात विकेटको क्षतिमा २७० रन बनाएको थियो । हङकङ चाइना जवाफमा ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो । नेपालको लगातार दोस्रो जितपछि समूह एबाट अन्तिम चारमा पुगेको हो । दुई दिनअघि नेपालले सउदी अरबलाई हराएको थियो ।

अशोकले ५१ बलमा ७३ रन बनाए । उनले तीन चौका र चार छक्का  प्रहार गरे ।

अशोकले बलिङमा पनि शानदार प्रदर्शन गर्दै दस ओभरमा २९ रन खर्चेर तीन विकेट लिएपछि नेपालको जित सहज बन्यो। नेपालका लागि सर्वाधिक चार विकेट अपराजित पौडेलले लिए। यसैगरी दयानन्द मण्डल, सुशीलबहादुर रावल र रोशन विश्वकर्माले एक÷एक विकेट हासिल गरे ।

हङकङका लागि कप्तान शिव माथुरले सर्वाधिक ३० रन बनाए ।