१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल तेक्वान्दो संघ तथा नेपाल स्थित दक्षिण कोरियाली दूतावासको तत्वावधानमा १३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको हलमा भव्य रुपमा उद्घाटन समारोह भएको छ ।

प्रतियोगिताको औपचारीक उद्घाटन पुर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र कोरियाली राजदूत महामहिम श्री पार्क ताई योङले संयुक्त रुपमा दीप प्रज्वलन गरी गरे । १३ औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दक्षिण एशियाली मुलुकः भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १५५० जना तेक्वान्दो खेलाडीहरुले सहभागीता जनाएका छन् । यस प्रतियोगितामा कुल ६१ स्वर्ण, ६१ रजत साथै १२२ काँष्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । आज उद्घाटन भएको उक्त प्रतियोगिता मंसिर २० (डिसेम्बर ०६) सम्म चल्ने छ ।

नेपाल पुलिस क्लबका प्रेमबहादुर लिम्बूले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेतासमेत रहेका लिम्बूले व्यक्तिगत पुम्सेको पुरुष ४० वर्षमुनिको स्पर्धामा स्वर्ण पदक जितेका हुन् । त्रिभुवन आर्मी क्लबका रेजिन रिमाल दोस्रो र अल्फा तेक्वान्दो डोजाङ दाङका दामोदर शर्माले कांस्य पदकमा चित्त बुझाए ।

यसैगरी महिला ४० वर्षमुनिको एकल पुम्सेमा नेपाल एपीएफ क्लबकी प्रतिभा भिस्टा पहिलो र आर्मीकी सविना भट्टराईले दोस्रो स्थान हात पारे । यस्तै व्यक्तिगत पुम्सेको छात्र १०–१२ वर्ष उमेर समूहमा सुनसरीको चन्द्रमा डोजाङका प्रकाश श्रेष्ठले स्वर्ण पदक जिते । बालाजु डोजाङका रावल पण्डित दोस्रो तथा स्वयम्भू डोजाङका रोजकुमार तामाङ र स्वस्तिक डोजाङका सुमन तामाङले कांस्य पदक प्राप्त गरे ।