जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न भएका ८ जना मोरङबाट पक्राउ

मोरङ, १६ मङ्सिर । जेन्जी आन्दोलनका नाममा भदौ २४ गते रंगेलीमा सरकारी कार्यालयहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न भएका थप ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका ३ का भुपाल भण्डारी, रंगेली ७ का आनन्द साह, रंगेली ४ का रमेश कुमार मण्डल, रंगेली ३ का रुपक गौतम, रुपेश यादव, समिर क्षेत्री, दोर्जे प्रतिक तामाङ र गणपत यादव रहेका छन्।

मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई आ-आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै आरोपितहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *